काठमाडौं — पाथीभरा जाने मार्गमा अहिले दिनहुँ ‘गो ब्याक चन्द्र ढकाल’ र ‘नो केवलकार’ को नारा चर्किरहेको छ।
प्रतिस्पर्धाबिनै देशभरका पहाडहरूमा केवलकार बिस्तारको कार्य तिब्रताका साथ गरिरहेका चन्द्र ढकालको पाथीभरा केवलकार योजनाको बिरुद्ध स्थानीयहरूले लामो समयदेखि विरोध प्रदर्शन गर्दै आएका छन्।
मुक्कुमलुङ क्षेत्रमा केवलकार संचालनका लागि ब्यापक प्रहरी परिचालन गरेपछि आन्दोलन चर्किएको हो। मुक्कुमलुङ संरक्षण संयुक्त समितिका युवाहरुले प्रहरीको उपस्थितिविरुद्ध प्रतिरोध गरिरहेका छन्।

पाथीभरा केवलकार परियोजना र विवाद
२०७५ साल फागुन १५ गते तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनापछि पाथीभरा केवलकारको चर्चा तीव्र भएको थियो। करिब दुई दशकदेखि यो परियोजनाको चर्चा भए पनि पाँच वर्षयता मात्रै यो मुद्दा विवादको केन्द्रमा छ।
स्थानीय समुदायको इच्छाविपरीत पाथीभरा केवलकार परियोजना अघि बढाइएपछि धार्मिक तथा सांस्कृतिक अतिक्रमण हुने, जैविक विविधतामा नोक्सान पुग्ने र स्थानीयको जीविकोपार्जनमा असर पर्ने भन्दै स्थानीय विरोधमा उत्रिएका छन्।

जग्गा खरिदमा चरम अनियमितता
विकासको नाममा मुक्कुमलुङ जस्तो पवित्र भूमिमा व्यापारिक समूह आइएमइ ग्रुपका मालिक चन्द्र ढकालले स्थानीयदेखि केन्द्रसम्मका नेता र प्रशासनलाई आर्थिक प्रलोभनमा पारेर अनियमित ढंगले ब्यापारीक फाइदा लिन खोजेको स्थानिय आन्दोलनरत संघर्ष समितीको आरोप छ। ढकालको प्रलोभनका कारण मुक्कुमलुङ केवलकारविरुद्धको आन्दोलन उत्कर्षमा पुगे पनि सम्बन्धित जिल्लाका सांसद तथा नेताहरू मौन बसेको संघर्ष समितिका सदस्यहरु बताउँछन्।
त्यस्तै, केवलकार सञ्चालनका लागि फुङलिङ नगरपालिका–११ स्थित काफ्ले पाटीमा सरकारी मुल्य अनुसार प्रति रोपनी ३० हजार रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ। तर, त्यहाँको हालको चलनचल्तीको बजार मूल्य प्रतिरोपनी ९० हजार रुपैयाँ रहेकोमा ९० लाख रुपैयाँ प्रति रोपनी दरले जग्गा खरिदबिक्री गरिएको भेटिएको छ।
मालपोत कार्यालय ताप्लेजुङका अनुसार, पाथीभरादेवी दर्शन केवलकार प्रा.लि नामक कम्पनीलाई पुष्पबहादुर बरुवाल र सुरेन्द्रकुमार गुरुङले २९ रोपनी जग्गा सो मूल्यमा बिक्री गरेको पाइएको हो। पाथीभरादेवी दर्शन केवलकार प्रालिलाई जग्गा बिक्री गर्ने बरुवाल पाथीभरा क्षेत्र विकास समितिका पूर्व अध्यक्ष हुन्।
काफ्ले पाटी क्षेत्रमा उक्त समूहले जग्गा खरिद गर्नुअघि प्रति रोपनी ९० हजारदेखि १ लाख रुपैयाँसम्मको मूल्यमा पाइन्थ्यो। तर, सो समूहले ९४ हजार रुपैयाँ प्रति रोपनीमा खरिद गरी पछि ९० लाख रुपैयाँ प्रति रोपनी मूल्य तोकेर पाथीभरा देवी दर्शन केवलकार प्रालिको नाममा जग्गा नामसारी गरेको पाइएको छ।
मालपोत कार्यालय ताप्लेजुङका अनुसार, कारोबार रकम चलनचल्तीको दररेटभन्दा निकै माथि राखेर जग्गा खरिदबिक्री गरिएको छ। ‘यो अस्वाभाविक मूल्य हो। महँगो मूल्यमा जग्गा कारोबार भएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परे पनि ढकालले शक्तिको दुरुपयोग गर्दै अख्तियारलाई समेत प्रभावमा पारेर उजुरी सामसुम बनाएको आरोप स्थानीयले लगाएका छन्।
कम्पनीलाई सरकारले केवलकार निर्माणका लागि ४.९७ हेक्टर जमीन दिने निर्णय गरिसकेको छ। प्रस्थान विन्दुमा संरचना बनाउन कम्पनीले उक्त जग्गा खरिद गरेको हो। पाथीभरा क्षेत्रको काफ्ले पाटीबाट मन्दिरसम्म २.७४ किलोमिटर दूरीमा केवलकार निर्माण गर्ने योजना छ। २ अर्ब ५५ करोड रुपैयाँ लागत अनुमान गरिएको केवलकार दुई वर्षभित्र निर्माण गर्ने लक्ष्य राखिएको छ।
यद्यपि, मुक्कुमलुङ क्षेत्रमा केवलकार सञ्चालन गर्नु संयुक्त राष्ट्रसंघीय आदिवासी अधिकार घोषणापत्र (UNDRIP) ले व्यवस्था गरेको कानुनविपरीत हुने अधिवक्ता संखर लिम्बु बताउँछन्।
यी हुन्, पाथिभरामा केवलकार सञ्चालन गर्न नहुने कारणहरु
स्थानिय तथा जानकारहरुले पाथीभरामा केबलकार सञ्चालन गर्नु गलत भनिरहँदा “विकासमा अवरोध गर्नु हुँदैन” भन्ने तर्क धेरै सुनिन्छ। के हामी आधुनिक विकासलाई अस्वीकार गरेर ढुँगे युगमै रमाउने त? यस्ता अभिव्यक्तिहरू पनि सामाजिक संजालमा बारम्बार दोहोरिन्छन्। विकाससँगै विनाश पनि स्वाभाविक हो भन्ने तर्क पनि प्रशस्त सुन्न पाइन्छ। सुन्दा यथार्थ लाग्छ, विकासमा अवरोध गर्नु पक्कै सही होइन। तर, विकासका नाममा सञ्चालित आधुनिक परियोजनाले पार्ने दीर्घकालीन असरको विषयमा सर्वसाधारणलाई जानकारीको अभाव छ। केवल चाहिएको कुरा भनेको दलाल पुँजीवादले निर्माण गरेका कुरुप विकासका संरचनाहरू मात्र हुन्।
यस प्रकारको विकास गतिविधिले वातावरणमा प्रत्यक्ष प्रभाव पुर्याउँछ। यसले प्राकृतिक सम्पदाको अत्यधिक दोहन, पर्यावरणीय क्षेत्रमा गिरावट, जलवायु परिवर्तन, जैविक विविधतामा पर्ने गम्भीर असरका कारण सिर्जित समस्याहरूलाई नजरअन्दाज गरेको पाइन्छ।
- मुक्कुमलुङ (पाथीभरा) डाँडा, हिमाल जत्तिकै अग्लो डाँडा हो, जुन प्राकृतिक वरदानको रूपमा अवस्थित छ। यति सुन्दर प्राकृतिक सम्पदामा ह्रास पुर्याउने मानवीय गतिविधि रोक्न आवश्यक छ। यसले जलवायु परिवर्तनलाई सन्तुलनमा राख्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ।
- ठिङ्ग उभिएको मुक्कुमलुङ सिर्फ ढुङ्गा र माटोले बनेको निर्जीव डाँडो मात्र होइन। यो डाँडोसँग हजारौं वर्षदेखि स्थानीय रैथाने समुदायले पुज्दै आएका आस्थाका जीवित मुन्धुमहरू जोडिएका छन्। तसर्थ, यी मुन्धुमहरूको आत्मा मर्न दिनेगरी यो ठाउँलाई व्यापारीक केन्द्र बनाउनु पूर्ण रूपमा गलत छ।
- परियोजनाबाट सयौं प्रजातिका बोटबिरुवा, लोपोन्मुख वन्यजन्तुका वासस्थान, र संरक्षित जडिबुटीहरूको क्षेत्रमा गम्भीर असर पुग्ने निश्चित छ। तसर्थ, राज्यले लिने वन संरक्षण, दुर्लभ वन्यजन्तु र बोटबिरुवा संरक्षण गर्ने नीति विपरीत यस प्रकारको आफू निकट ब्यापारीक घरानालाई ब्यापारीक स्वार्थका लागी सार्वजनिक प्राकृतिक सम्पदाको दोहनगराई परियोजना सञ्चालन गर्न दिनु आफैंमा घातक छ।
- केवलकार सञ्चालनले ताप्लेजुङको पर्यटनमा टेवा पुग्ने हल्ला केवल केबलकारबाट लाभान्वित स्वार्थ समूहले फैलाएको मात्र हो। पर्यटन व्यवसायमा पर्यटकहरू जतिसुकै समय अडिन्छन्, त्यति नै फाइदा हुन्छ। तर, केवलकार सञ्चालनले पर्यटक एक दिन पनि ताप्लेजुङमा नअडिने स्थिति सिर्जना गर्छ। जसको प्रत्यक्ष असर स्थानीय साना व्यवसाय र रोजगारीमा पर्छ। केवलकार सञ्चालनले होटल व्यवसायदेखि स्थानीय खुद्रा व्यवसाय र मजदुरहरू समेत पूर्ण रूपमा विस्थापित हुनेछन्।
- केवलकार पर्यटन प्रवर्द्धनभन्दा पनि निजी क्षेत्रको मुनाफा कमाउने उद्देश्यले सञ्चालित छ। सार्वजनिक सम्पत्तिमाथि निजीकरण गर्नु आफैंमा खेदजनक विषय हो।
- हजारौं वर्षदेखि स्थानीय रैथाने समुदायको आस्थाको केन्द्र मुक्कुमलुङमाथिको धार्मिक र साँस्कृतिक अतिक्रमणप्रति अन्तर्राष्ट्रिय कानुनहरू पनि आकर्षित हुन्छन्। यही मर्मलाई लिएर स्थानीय सरोकारवाला समुदायहरू आन्दोलित हुनुले पनि मुक्कुमलुङमा केवलकार स्थानीय जनताको हितमा छैन भन्ने स्पष्ट हुन्छ।
- केवलकार बनेपछि परम्परागत मान्यता र प्रचलनअनुसार कान्छी माताको पूजा नगरी सिधै पाथीभरा मन्दिर पुगिने हुन्छ। अर्को तर्फ, बहिनी कान्छी मातालाई माथिबाट नाघेर जानुपर्ने हुँदा यस क्षेत्रमा केवलकार बन्नु वैदिक परम्परा र पूजा पद्धतिविपरीत हुन्छ। यसबाट अकल्पनीय क्षति व्यहोर्नु पर्ने भएकाले भविष्यमा यस्तो अनिष्ट नहोस् भन्न पाथीभरा देवीलाई यथास्थितिमै रहन दिनुपर्छ।
यी कारणहरूले स्पष्ट पार्दछ कि पाथीभरामा केवलकार सञ्चालन गर्नु केवल ब्यापारीक स्वार्थका लागि मात्र हो ।
को हुन् बिवादित ब्यापारी चन्द्र ढकाल ?
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल निजी क्षेत्रको छाता संस्थाका प्रमुख हुन्। बागलुङको अमलाचौरमा २०२२ सालमा जन्मिएका ढकालको व्यावसायिक इतिहास लामो छैन।

नेपालको पहिलो रेमिटेन्स कम्पनी आईएमई रेमिट स्थापना गरेका ढकाल छोटो समयमा नै उल्लेखनीय व्यावसायिक सफलता हात पार्न सफल भएका व्यवसायीमध्ये पर्छन्। तर, केही विश्लेषकहरू भन्छन्— ‘कुनै पनि शक्ति दुरुपयोग नगरी, सेटिङबिना वा अनैतिक माध्यम प्रयोग नगरी यति तीव्र आर्थिक उन्नति सम्भव हुँदैन।’ ढकाल आईएमई ग्रुपका मालिक समेत हुन्।
यसबाट प्रष्ट हुन्छ कि ढकाल राज्यको स्रोत-साधन तथा शक्ति परिचालन गर्न विभिन्न हत्कण्डा अपनाउन पछि पर्दैनन्। उनले रेमिटेन्स, बैंकिङ, व्यापार, सूचना प्रविधि, सञ्चार, ऊर्जा, पर्यटन, होटल तथा रिसोर्ट, अटोमोबाइल, बिमा, खेलकुद तथा मनोरञ्जन लगायतका क्षेत्रमा लगानी गरेका छन्।
पछिल्लो समय उनले पर्यटन पूर्वाधारमा लगानी विस्तार गर्दै सातवटै प्रदेशमा “आधुनिक विकास” को नाममा केवलकार निर्माणको विस्तार गरिरहेका छन्। चन्द्रागिरी हिल्स प्रालि द्वारा सञ्चालित चन्द्रागिरी केवलकार पनि उनकै स्वामित्वमा छ। उक्त केवलकारले सार्वजनिक जग्गा अतिक्रमण गरी सञ्चालन गरेको आरोपमा अदालतमा मुद्दा परेको थियो। कानूनी विश्लेषकहरूका अनुसार, ढकालले अदालतलाई नै प्रभावित गरी केवलकारकै पक्षमा फैसला गराउन सफल भएका थिए।
प्रकाशित मिति: १९ माघ २०८१, शनिबार













प्रतिक्रिया