काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालाले जनताको असन्तुष्टि बढ्दै गएपछि राजतन्त्रको माग उठ्न थालेको बताएका छन्। उनले जनताको अपेक्षा पूरा गर्न नसक्दा राजसंस्थाको पुनर्बहालीको पक्षमा प्रदर्शन भइरहेको उल्लेख गरे।
शुक्रबार झापामा आयोजित कार्यक्रममा उनले नेपालमा मात्र होइन, अन्य देशहरूमा समेत असन्तुष्ट नागरिकहरूले राजसंस्थाको वकालत गर्ने बताए। उनले विशेष गरी फ्रान्सको उदाहरण दिँदै त्यहाँका केही नागरिकहरू आज पनि राजसंस्थाको पक्षमा बहस गर्ने बताए। कोइरालाका अनुसार, गणतन्त्रले जनतामा विश्वास पैदा गर्न सक्नुपर्छ, अन्यथा यस्तो असन्तुष्टि बढ्दै जान्छ।
उनले भने, “अरूले पूर्वराजा भन्छन्, म भने राजा नै भन्छु। कार्यकारी भइसकेका व्यक्तिलाई ‘पूर्व’ भन्ने चलन नेपालमै मात्र छ, अन्यत्र छैन। राजाको चर्चा विश्वभर कतै न कतै भइरहेकै हुन्छ। उदाहरणका लागि, फ्रान्सको पेरिसमा एउटा चिया पसल छ, जहाँ आज पनि ‘राजा फर्काउनु पर्छ’ भन्ने बहस चल्छ। यसले के देखाउँछ भने समाजमा असन्तुष्टि रहिरहेकै छ।”
गणतन्त्रले जनतालाई आशा र भरोसा दिन सके/नसकेको कुरामा केन्द्रित हुनुपर्ने उनले बताए। “हामीले गणतन्त्र ल्यायौँ, तर के यसले जनतालाई खुशी तुल्यायो? के यसले अपेक्षित परिवर्तन ल्यायो?” भन्दै उनले वर्तमान नेतृत्वलाई समीक्षा गर्न आग्रह गरे।
प्रकाशित मिति: २३ फाल्गुन २०८१, शुक्रबार












प्रतिक्रिया