काठमाडौँ । सत्तारूढ दल नेकपा एमालेले लोकतन्त्र दिवसको अवसरमा आज काठमाडौँस्थित भृकुटीमण्डपमा विशेष कार्यक्रम आयोजना गर्दैछ। कार्यक्रमको तयारी अन्तर्गत भृकुटीमण्डप क्षेत्रमा राखिएका राष्ट्रिय झण्डाको अवस्थालाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री शरदराज पाठकले गम्भीर आपत्ति जनाएका छन्।
पाठकले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै राष्ट्रिय झण्डा आधा झुकाइएको देखिएको र त्यसले शोकको संकेत दिने परिपाटी उल्लङ्घन भएको भन्दै प्रश्न उठाएका छन्— “केको शोक मनाइएको हो?” उनले फेसबुकमा लेखेका छन्, “तपाईंहरूको पार्टीको झण्डा जेसुकै राख्नुस्, त्यो तपाईंहरूको अधिकार हो। तर राष्ट्रिय झण्डा अपमानजनक तरिकाले राख्नु गम्भीर विषय हो। यस कार्यको सम्पूर्ण जिम्मेवारी आयोजक नेतृत्व—अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेल—ले लिनुपर्छ, र उनीहरूलाई कारबाही गरिनुपर्छ।”
पाठकले कार्यक्रमस्थलमा सूर्य चिन्ह अंकित एमाले पार्टीको झण्डासँगै राष्ट्रिय झण्डा उल्टो झुण्ड्याइएको तस्बिर पनि सार्वजनिक गरेका छन्, जसले सामाजिक सञ्जालमा बहस चर्किएको छ।
राष्ट्रिय झण्डाको सम्मान र प्रयोग सम्बन्धी कानुनी मापदण्डअनुसार यसको यथोचित व्यवस्थापन हुनुपर्ने माग राप्रपाले गरेको छ।
प्रकाशित मिति: ११ बैशाख २०८२, बिहिबार












प्रतिक्रिया