काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूलाई संसदमा सक्रिय, मर्यादित र प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन्। शनिबार बसेको एमाले संसदीय दलको बैठकमा उनले आगामी बजेट अधिवेशनलाई लक्षित गर्दै यस्तो निर्देशन दिएका हुन्।
प्रधानमन्त्री ओलीले गलत तथा भ्रामक अभिव्यक्तिको तत्काल प्रतिवाद गर्न सांसदहरूलाई सुझाव दिए। उनले भने, “देशप्रति जसको निष्ठा छैन, तिनको असली चरित्र उजागर गर्नुपर्छ। आज उठेका गलत भनाइको आजै जवाफ दिनुपर्छ।”
उनले सांसदहरूलाई देशभक्तिको भावना उजागर गर्दै जनतालाई सचेत बनाउने खालको धारिलो भूमिका खेल्न आग्रह गरे। “बोल्नकै लागि बोल्ने होइन, अर्थपूर्ण र तथ्यमा आधारित ढंगले स्पष्ट अभिव्यक्ति दिनुपर्छ,” ओलीले भने, “संसदमा केही व्यक्ति र समूहहरूले झूट, अश्लील र असभ्य भाषा प्रयोग गरिरहेका छन्। तर, हामीले मर्यादित, सु–संस्कृत र सभ्य शैलीमा सत्य तथ्य प्रस्तुत गर्दै अघि बढ्नुपर्छ।”
सत्य उजागर गर्नु र राष्ट्रियताको पक्षमा दृढ भएर उभिनुपर्ने आवश्यकता औँल्याउँदै उनले राष्ट्रलाई कमजोर पार्ने तत्वहरूको कडा आलोचना गर्न पनि सांसदहरूलाई निर्देशन दिएका छन्। ओलीले संसदमा गरिमायोग्य व्यवहार र पार्टीको प्रतिष्ठा उचो राख्न सबै सांसदहरूलाई सचेत रहन आग्रह गरे।
प्रकाशित मिति: १३ बैशाख २०८२, शनिबार












प्रतिक्रिया