काठमाडौं  ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी जेठ १५ गतेदेखि सुरु हुने आन्दोलनबाट गणतन्त्र अन्त्य गरिने दाबी गरेका छन्। उनले आन्दोलन सफल भए प्रधानमन्त्रीलाई हेलिकप्टरबाट भाग्ने सुविधा दिने अभिव्यक्ति दिएका छन्।

गणतन्त्र दिवसकै दिनदेखि ‘निर्णायक आन्दोलन’ सुरु गर्ने तयारीस्वरूप राप्रपाले मंगलबार काठमाडौंका सबै स्थानीय तहमा अगुवा कार्यकर्ता भेला गरेको थियो। सो भेलालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले वर्तमान सत्ता व्यवस्थालाई चुनौती दिनेगरी आन्दोलन अघि बढाइने बताए।

advertisement

उनले भने, “अस्ति संसद्मा प्रधानमन्त्रीले उमेरले अब भाग्न सकिन्न भन्नु भएको थियो, तर भाग्ने कुरा नगर्नु भएन। यदि सम्झौता नगर्ने हो भने हामी उहाँहरूलाई हेलिकप्टरबाट जान दिनेछौँ। त्यही बाटो खुला राखिन्छ।”

“शान्तिपूर्ण तर निर्णायक आन्दोलन”

लिङ्देनले आफ्नो नेतृत्वको आन्दोलन शान्तिपूर्ण हुने स्पष्ट पार्दै कार्यकर्ताहरूले ‘केवल तोडफोड नगरी परिवर्तन कसरी सम्भव हुन्छ’ भन्ने प्रश्न गर्ने गरेको उल्लेख गरे। तर उनले सत्याग्रह र भद्र अवज्ञाको बाटोबाटै गणतन्त्र समाप्त गरेर राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापना गरिने दाबी गरे।

“हाम्रो छिमेक भारतमै १९० वर्षको ब्रिटिस शासन सत्याग्रहकै माध्यमबाट अन्त्य गरिएको थियो,” उनले भने, “त्यस्तै बाटोबाट दुई दशक पनि नपुगेको गणतन्त्रको अन्त्य गर्दै हाम्रो मान्यता स्थापित गर्छौं।”

ओलीकै सहयोगमा सांसद बनेका लिङ्देन

राप्रपा अध्यक्ष लिङ्देन झापा–३ बाट दोस्रो पटक प्रतिनिधि सभामा विजयी भएका सांसद हुन्। उनले २०७४ र २०७९ को निर्वाचन एमालेको समर्थनमा जितेका थिए। २०७४ मा वाम गठबन्धनका तर्फबाट र पछिल्लो निर्वाचनमा एमालेको प्रत्यक्ष सहयोगमा उनी विजयी भएका हुन्।

प्रधानमन्त्रीकै दलको सहयोगमा संसद पुगेका लिङ्देनले अहिले भने आफ्नै परिवारसहित आन्दोलनमा होमिन आह्वान गरेका छन्। आन्दोलन निरन्तर रहने जानकारी दिँदै उनले भने, “यो आन्दोलन शान्तिपूर्ण र आयोजकको पूर्ण नियन्त्रणमा हुनेछ। कुनै हिंसात्मक गतिविधि हुनेछैन, सरकारले दमन गर्ने बहाना पनि पाउने छैन।”

जनसहभागिताको आह्वान

राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि जनसहभागिता बढाएर आन्दोलनलाई सफल बनाउनेतर्फ सबैलाई सक्रिय हुन आग्रह गरेका छन्। उनले मुलुकमा आमूल परिवर्तनका लागि जनता सडकमा आउनुपर्ने आवश्यकता औंल्याए।

प्रकाशित मिति: ६ जेष्ठ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com