काठमाडौं । अछाममा आइतबार साँझ करिब ५ बजे आएको भीषण हावाहुरीले जिल्लाभरका विभिन्न ठाउँहरूमा क्षति पुर्‍याएको छ। पञ्चदेवल विनायक नगरपालिका र रामारोशन गाउँपालिकाका दर्जनभन्दा बढी घर तथा सार्वजनिक संरचनाहरूमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ।

सबैभन्दा बढी क्षति पञ्चदेवल विनायक नगरपालिका–२ मा बसोबास गर्ने हवाजै कामीको घर वरपर देखिएको छ। बगैँचामा रहेको रुखको हाँगा भाँचिएर शौचालय र सोलार प्यानल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। त्यस्तै सो ठाउँको लेख काडाँगाउँकी पवित्रा देवी धामीको दुई तले चारकोठे कच्ची घरको छाना उडाएको छ।

advertisement

पञ्चदेवल विनायक–३ का सिरे कामीको जस्तापाताले छाइएको दुई तले घरको छाना उडाएको छ भने, नादीमा बस्ने तप्तराज तिमिल्सेनाको घरमा भने मेलको रुख भाँचिएर घरमाथि खसेपछि घर पूर्ण रूपमा भत्किएको छ।

रामारोशन गाउँपालिका–५, नेटाकोटस्थित यशोदा माविको दुई तले एक कोठे भवनको टिनको छाना उडाएको छ। त्यस्तै, सोही ठाउँका शक्ति बहादुर साउदको गाडी राख्ने ग्यारेजको छानासमेत हावाहुरीले उडाएको छ।

यसैगरी, पञ्चदेवल विनायक–५ का टंकबहादुर साही, वडा नं। ४ का मीन बहादुर बिक, र वडा नं। ३ का दान बहादुर कठायत, भरत अधिकारी, र रण बहादुर रावलका घरहरूमा पनि छाना र संरचनात्मक क्षति पुगेको छ। कमल साउँदको जस्तापाताको घर त पूरै उडाएको छ।

जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी ईश्वरीप्रसाद भण्डारीका अनुसार हालसम्म प्राप्त विवरणअनुसार घटनामा कुनै पनि मानवीय वा चौपाया क्षति नभएको पुष्टि भएको छ। यद्यपि, प्रभावित परिवारहरूले दैनिक बसोबासमा कठिनाइ भोग्नुपरेको जनाएका छन्।

स्थानीय तह र सम्बन्धित निकायले घटनाको विस्तृत विवरण सङ्कलन गर्दै प्रारम्भिक क्षति मूल्याङ्कन सुरु गरिसकेको छ। राहत तथा पुनर्निर्माणका लागि आवश्यक कदम चालिने जनाइएको छ।

 

प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com