काठमाडौं। सर्वोच्च अदालतका निलम्बित शाखा अधिकृत महिमानसिंह विष्टलाई थुनामा राख्न नागरिक उन्मुक्ति पार्टी नाउपाका संरक्षक रेशम चौधरीले दिएको निवेदनमाथि आज सुनुवाइ हुँदै छ । सोमबार चौधरीले उच्च अदालत पाटनमा निवेदन दिएका थिए ।
उक्त निवेदनमाथि सुनुवाइका लागि मंगलबार पेसी तोकिएको चौधरीका अधिवक्ता टीकाबहादुर कुँवरले बताए । विष्टले गत वैशाख १७ गते चौधरीलाई तत्काल पक्राउ गरी कैदमा राख्न प्रहरी र डिल्लीबजार कारागारमा अनधिकृत पत्र लेखेपछि सोही दिन चौधरी पक्राउ परेका थिए ।
उक्त अनधिकृत पत्रका कारण ५ घण्टा चौधरी कारागारमा बस्नुपरेको थियो । सर्वोच्चले विष्टको पत्र अनधिकृत भन्दै पत्र सच्चाएर पठाएपछि उनलाई छाडिएको थियो ।
अनधिकृत पत्र लेख्ने विष्टविरुद्धको लिखत किर्तेको मुद्दा जिल्ला अदालत काठमाडौँमा विचाराधीन छ । गत जेठ ५ गते जिल्लाले विष्टलाई एक लाख धरौटीमा मुद्दाको पुर्पक्षका लागि तारेखमा छाडेको थियो ।
विष्टलाई धरौटीमा छाड्ने आदेश बेरितको भई त्रुटिपूर्ण भएकाले उक्त आदेश बदर गरी विष्टलाई थुनामै राख्न मागसहित चौधरी उच्च पुगेका हुन् ।
प्रकाशित मिति: २० जेष्ठ २०८२, मंगलबार












प्रतिक्रिया