काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षकहरूले अघि सारेका जायज मागहरू सरकारले पुरा गर्ने विश्वास व्यक्त गरेका छन्।

नेपाल शिक्षक संघद्वारा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले विगतमा भएका आन्दोलनपछिका सहमति कार्यान्वयन हुने अपेक्षा व्यक्त गरे। उनले शिक्षक, प्राध्यापकहरूले उठाएका मागहरू न्यायोचित रहेको बताउँदै, त्यसलाई समाधान गर्न सरकार गम्भीर बन्नुपर्ने धारणा राखे।

advertisement

शिक्षकहरूको सेवा–सुविधा सुधारको सन्दर्भमा देशको समग्र आर्थिक अवस्था पनि विचार गर्नुपर्ने देउवाको भनाइ थियो। तर उनले आफू व्यक्तिगत रूपमा शिक्षक समुदायका हकहितका विषयमा सधैं साथमा रहने र सक्दो पहल गर्ने प्रतिबद्धता जनाए।

देउवाले शिक्षकले विद्यार्थीसँगै आफ्नै परिवारको भविष्य पनि बोक्नुपर्ने दोहोरो जिम्मेवारी रहेको उल्लेख गर्दै, त्यस्तो परिस्थितिमा उनीहरूको जीवन सहज नहुने स्पष्ट पारे।
“शिक्षकले नयाँ पुस्ताको निर्माण गर्नेसँगै आफ्ना परिवारको पनि भरणपोषण गर्नुपर्छ, जुन सजिलो काम होइन,” उनले भने।

कार्यक्रमका क्रममा सभापति देउवाले नेपाल विद्यार्थी संघ (नेविसंघ) मा आबद्ध विद्यार्थीहरूको संख्या घट्दै गएकोप्रति पनि चिन्ता व्यक्त गरे।
उनले नेविसंघलाई पुनः सक्रिय र प्रभावशाली बनाउनेतर्फ ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।

देउवाको भनाइले शिक्षण पेशा र शिक्षकहरूको भूमिका प्रतिको सम्मान झल्किएको छ भने, शिक्षा क्षेत्र सुधारका लागि राजनीतिक नेतृत्वको सक्रियता आवश्यक रहेको सन्देश पनि दिएको छ।

प्रकाशित मिति: २९ जेष्ठ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com