काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा १५औँ महाधिवेशनका लागि डडेल्धुराबाट सर्वसम्मत क्षेत्रीय प्रतिनिधि चयन भएका छन्।

डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ मा सम्पन्न कांग्रेसको वडा अधिवेशनबाट देउवा सर्वसम्मत रूपमा क्षेत्रीय प्रतिनिधि चयन भएका हुन्। वडा सभापति पदम महताका अनुसार देउवालाई क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन गरिएको हो।

देउवा पक्षले १४औँ महाधिवेशनमा कायम गरिएको कांग्रेसको विधानअनुसार १५औँ महाधिवेशन गर्ने तयारी गरिरहेको छ। उक्त विधानमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ।

तर, देउवाले भने यसपटक पनि चुनावी प्रक्रियाबाटै महाधिवेशन प्रतिनिधि बन्ने इच्छा देखाउँदै वडाबाट क्षेत्रीय प्रतिनिधिका लागि उम्मेदवारी दिएका हुन्। यसअघि पनि देउवा वडास्तरबाटै प्रतिस्पर्धा गर्दै महाधिवेशन प्रक्रियामा सहभागी हुँदै आएका छन्।

गन्यापधुरा–१ का नेता रमेश रावलका अनुसार देउवाले क्षेत्रीय प्रतिनिधिको उम्मेदवारी मनोनयनका लागि स्थानीय कौशिलादेवी देउवालाई वारेसनामा दिएका थिए।

त्यस्तै, देउवाका स्वकीय सचिव भानु देउवा पनि गन्यापधुरा–१ को वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिमा चयन भएका छन्। उनले आफ्नो उम्मेदवारी मनोनयनका लागि स्थानीय इन्द्रबहादुर देउवालाई वारेसनामा दिएका थिए।

 

प्रकाशित मिति: १६ आश्विन २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com