काठमाडौं । इरानले इसराइलविरुद्धको हालैको आक्रमणमा अत्याधुनिक प्रविधियुक्त ब्यालिस्टिक मिसाइल प्रयोग गरेको दाबी गरेको छ। इरानी सरकारी समाचार संस्था फार्सका अनुसार शनिबार रातिदेखि आइतबार बिहानसम्म गरिएको तेस्रो चरणको हमलामा इरानले “हाज कासेम” नामक उन्नत क्षमताको मिसाइल प्रयोग गरेको हो।

इरानी रक्षा मन्त्री जनरल अजिज नासिरजादेहका अनुसार यो मिसाइलले अमेरिकी सेनाको टर्मिनल हाई अल्टिच्युड एरिअल डिफेन्स प्रणाली तथा इसराइलमा प्रयोगमा रहेका प्याट्रियट मिसाइल प्रणालीजस्ता उन्नत सुरक्षा संयन्त्रलाई समेत छल्न सक्षम छ। उनले यो प्रविधि इसराइलको मिसाइल सुरक्षा कवच भेदन गर्न डिजाइन गरिएको बताए।

advertisement

“हाज कासेम” नामक उक्त मिसाइल इस्लामिक रिभोलुसनरी गार्ड कोरको कुर्द्स फोर्सका पूर्वकमाण्डर कासिम सुलेमानीको सम्मानमा नामाकरण गरिएको हो। सन् २०२० को अगस्टमा पहिलोपटक सार्वजनिक गरिएको यो मिसाइलको नयाँ संस्करण इरानी रक्षा मन्त्रालयले गत मे महिनामा सार्वजनिक गरेको थियो।

इरानी समाचार एजेन्सी तस्निमका अनुसार ठोस इन्धनमा आधारित यो मिसाइल १,२०० किलोमिटरसम्मको दूरीमा आक्रमण गर्न सक्षम छ र यसमा मिसाइल रक्षा प्रणालीलाई छल्न सक्ने म्यानुभरेबल वारहेड जडान गरिएको छ।

इरानले शुक्रबार बिहानदेखि इसराइलमाथि आक्रमण सुरु गरे पनि शनिबार रातिको मिसाइल प्रहारपछि भने क्षति निकै व्यापक भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। विशेषगरी इजरायली तटीय सहर बातयाममा ठूला अपार्टमेन्ट भवनहरू पूर्णरूपमा ध्वस्त भएका छन्। ती भवनहरूमा मानिसहरू पुरिएको आशंका गरिएको छ।

ठूलो जनधनको क्षति

टाइम्स अफ इसराइलका अनुसार बातयाममा एक अपार्टमेन्ट भवनमा क्षति पुग्दा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने झन्डै २० जना अझै बेपत्ता छन्। यस्तै, २०० जनाभन्दा बढी नागरिक घाइते भएको बताइएको छ। घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको इसराइली अस्पताल स्रोतले जनाएको छ।

इसराइली राष्ट्रपति आइज्याक हर्जोगले आइतबारको विहानलाई “दु:खद र ऐतिहासिक रूपमा पीडादायक” भनेका छन्। टाइम्स अफ इसराइलले उनको भनाइ उद्धृत गर्दै लेखेको छ, “आतंककारी इरानले यहूदी, अरबी, आप्रवासी, वृद्ध, महिला तथा बालबालिका सबैलाई लक्षित गरी हमला गरेको छ।”

तेल अभिभ र जेरुसेलममा आइतबार बिहान समेत विस्फोटका आवाजहरू सुनिएको र नागरिकहरूमा भयको वातावरण सिर्जना भएको बताइएको छ।

इरानले शुक्रबार बिहान ड्रोनमार्फत आक्रमण थालेको थियो भने बेलुकीतिर रकेट र मिसाइल प्रहार गरिएको थियो। शनिबार रातिदेखि उसले नयाँ प्रविधिका ब्यालिस्टिक मिसाइल प्रयोग गर्न थालेको दाबी गरेको हो।

उता, इसराइलले शुक्रबार इरानमा गरेको पहिलो हमला अत्यन्तै घातक भएको थियो। त्यस आक्रमणमा वरिष्ठ इरानी सैन्य अधिकारीसहित ८० जनाको मृत्यु भएको र ३०० भन्दा बढी घाइते भएको पुष्टि अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले गरेका छन्।

युद्धको यो नयाँ चरणले मध्यपूर्वमा थप तनाव चुलिएको देखिएको छ। दुबै पक्ष आ-आफ्ना क्षमताबारे सार्वजनिक गर्दै आक्रमण र प्रतिआक्रमणमा उत्रिँदा सर्वसाधारणमाथि गम्भीर मानवीय संकट देखिन थालेको छ।

प्रकाशित मिति: १ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com