काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले प्रतिनिधिसभामा आफ्ना पार्टीका सांसदहरू शान्तिपूर्ण तरिकाले विरोध जनाइरहेको स्पष्ट पारेका छन्।

मंगलबारको संसद् बैठकमा रास्वपा सांसदहरूले निलो रिबन बाँधेर सहभागिता जनाएपछि नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले उनीहरूको निष्कासनको माग गरेका थिए। त्यसको प्रतिक्रिया स्वरूप उपनेता श्रेष्ठले आफूहरू असभ्य प्रदर्शन नगर्ने स्पष्ट पारे।

advertisement

“हो हजुर, हामी माइक भाँच्न जान्दैनौं, कुर्सी फोड्न पनि जान्दैनौं। मान्छे कुट्न, चिथोर्न पनि आउँदैन,” श्रेष्ठले भने, “तर हामीलाई जनताको पीडा बोल्न आउँछ।”

उनले थपे, “हामीको शान्तिपूर्ण विरोध जनताका दुःख–कष्टको प्रतिनिधि हो। हाम्रो यस्तो आन्दोलनले भ्रष्टाचारमा लिप्त र अपराधमा संलग्नहरूलाई पोल्नेछ।”

आजको बैठकमा रास्वपाका सांसदहरूले निलो रिबन बाँधेर भाग लिएका थिए। उनीहरूका अनुसार निलो रिबन मानव तस्करी र मानव बेचबिखनविरुद्धको चेतनामूलक संकेत हो, जुन विश्वव्यापी रूपमा स्वीकारिएको छ।

रास्वपाले हाल चर्चामा रहेको भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाको माग गर्दै संसद्‌मा विरोध जनाइरहेको छ। पार्टीले संसद् अवरुद्ध गर्दै निष्पक्ष छानबिन समिति गठनको माग राख्दै आएको छ।

प्रकाशित मिति: ३ असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com