काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार प्रतिनिधि सभाको बैठकमा प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा भाग लिन पुगेका थिए। तर बैठक सुरु हुनासाथै सांसदहरूको विरोधका कारण कार्यक्रम कार्यसूचीबाट हटाइयो।
बैठक सुरु भएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले नाराबाजी गर्दै विरोध जनाए। उनीहरूको अवरोधका बीच सभामुख देवराज घिमिरेले पटक–पटक बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरे पनि विरोध जारी रह्यो।
स्थिति सामान्य नदेखिएपछि सभामुख घिमिरेले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हटाइएको घोषणा गरे। त्यसपछि प्रधानमन्त्री ओली जवाफ नदिई बैठकस्थलबाट बाहिरिए।
ओली प्रतिनिधि सभाबाट निस्कँदै गर्दा पत्रकारहरूले सोधे, “प्रधानमन्त्रीज्यू, आज त जवाफ दिन पाइएन नि?” त्यसको जवाफमा उनले हल्का हाँस्दै भने, “मजा लाग्यो।”
रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै प्रतिनिधि सभाको लगातार बैठक अवरुद्ध गरिरहेका छन्। यही मुद्दामा सरकारमाथि दबाब सिर्जना गर्न सांसदहरूले शुक्रबार पनि विरोध जारी राखे।
प्रकाशित मिति: ६ असार २०८२, शुक्रबार













प्रतिक्रिया