काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शनिबार भेटवार्ता भएको छ। विप्लव प्रचण्डलाई भेट्न उनकाे खुमलटारस्थित निजी निवासमा पुगेका थिए।
भेटमा दुई नेताबीच देशको पछिल्लो राजनीतिक परिदृश्य, सम्भावित पार्टी एकता, समाजवादी मोर्चाको सम्भावना र वामपन्थी सहकार्यका विषयमा विस्तृत छलफल भएको जनाइएको छ।
महासचिव विप्लवका अनुसार तत्कालै पार्टी एकता सम्भव नदेखिए पनि साझा मुद्दामा संयुक्त मोर्चा बनाएर अघि बढ्न सकिने निष्कर्ष भेटमा निकालिएको थियो। उनले प्रचण्डसँगको संवादमा भनेका थिए, “एकताको आधार अहिले तयार छैन, तर वामपन्थी शक्तिबीच सहकार्य गर्दै जनताको जीवनसँग जोडिएका विषयमा साझा कार्यक्रम सञ्चालन गर्न सकिन्छ।”
उनले जनजीविकासम्बन्धी तात्कालिक आवश्यकता र चासोका विषयमा संयुक्त आन्दोलन तथा कार्यक्रमको प्रस्ताव समेत अघि सारेका छन्।
त्यसैगरी, साम्राज्यवादी शक्तिहरूले विश्वभरि सुरु गरेका युद्ध र हस्तक्षेपविरुद्ध मिलेर विरोध कार्यक्रम सञ्चालन गर्नुपर्ने विषयमा पनि छलफल भएको विप्लवले जानकारी दिए।
यसैबीच, महासचिव विप्लवले शनिबार नै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग पनि भेटवार्ता गरेका छन्। शुक्रबार भने उनले उक्त पार्टीका वरिष्ठ नेता झलनाथ खनालसँग छुट्टै छलफल गरेका थिए। खनालसँगको भेटमा नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा पनि सहभागी थिए।
प्रकाशित मिति: ७ असार २०८२, शनिबार













प्रतिक्रिया