काठमाडौं । इरानी संसदले हालै हर्मुज जलडमरु बन्द गर्ने प्रस्ताव पारित गरेको छ। तर संसदको अनुमोदनले मात्र यो निर्णय तत्काल कार्यान्वयनमा जाने अवस्था छैन। अन्तिम निर्णय इरानको सर्वोच्च सुरक्षा परिषद् र देशका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको हातमा छ।
यसले खामेनीको सामु दुईधारे चुनौती खडा गरेको छ—अमेरिकाको हमला र दबाबको प्रतिवाद गर्ने कि आफ्नै र निकट मित्र राष्ट्रहरूको हितलाई ध्यानमा राख्ने?
हर्मुज जलडमरुको रणनीतिक महत्त्व
हर्मुज जलडमरु पर्सियन खाडी र ओमानको खाडीलाई जोड्ने संवेदनशील समुद्री मार्ग हो। यही जलडमरुबाट साउदी अरेबिया, युएई, कुवेत, इराक र इरानले आफ्ना तेल अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्छन्। एसियाली मुलुक—चीन, भारत, जापान, दक्षिण कोरिया—लगायतले यही मार्ग प्रयोग गरेर तेल आयात गर्छन्।
विश्व बजारमा कारोबार हुने कुल तेलमध्ये करिब २० प्रतिशत हर्मुज जलडमरु भएर पुग्छ। यदि यो मार्ग अवरुद्ध भयो भने तेलको भाउ आकाशिने अनुमान गरिएको छ—हालको ७८ अमेरिकी डलर प्रति ब्यारेल दर १०० डलर नाघ्न सक्छ।
अमेरिकी आक्रमणको प्रतिक्रिया?
इरानको संसदले हालै अमेरिकी हमलाको प्रतिक्रिया स्वरूप जलडमरु बन्द गर्ने प्रस्ताव ल्याएको हो। अमेरिका हाल विश्वकै सबैभन्दा ठूलो तेल उत्पादक हो, र उसलाई हर्मुज मार्ग अवरुद्ध हुँदा सिधा आपूर्तिमा खासै असर पर्दैन। तर विश्वबजारमा तेलको मूल्यवृद्धिको प्रभाव अमेरिका समेतले झेल्नुपर्ने हुन्छ।
अमेरिका संसारकै सबैभन्दा ठूलो तेल उपभोक्ता हो—३४ करोड जनसंख्या भएको यो देशले विश्वको कुल तेल खपतको करिब २० प्रतिशत उपयोग गर्छ। यदि मूल्य बढ्यो भने अमेरिकामा उपभोक्ता तहमा महँगी चुलिन्छ र त्यसको सिधा असर राजनीतिमा पर्छ। अमेरिकामा बजार मूल्य राजनीतिक मुद्दा बन्ने मुख्य आधार हो।
चीन, भारत र जापानको चासो
हर्मुज जलडमरु बन्द गरिँदा चीन, भारत, जापान, दक्षिण कोरिया सबै प्रभावित हुन्छन्। यी देशहरूमा आउने करिब ७६ प्रतिशत तेल यही मार्ग भएर जान्छ। चीन मात्र होइन, भारत, जापान र दक्षिण कोरिया पनि इरानका व्यापारिक साझेदार हुन्। चीन इरानको सबैभन्दा ठूलो तेल ग्राहक हो—इरानले आफ्नो कुल तेल निर्यातको ९० प्रतिशत चीनलाई मात्र बेचिरहेको छ।
यो अवस्थामा चीनजस्तो रणनीतिक साझेदारलाई नै असहज बनाउने निर्णय गर्नु खामेनीका लागि सजिलो हुँदैन। भारत र जापानजस्ता देशहरू पनि यस कदमबाट प्रत्यक्ष मारमा पर्छन्, जसले अन्तर्राष्ट्रिय समर्थन गुम्ने खतरा समेत इरानमा थप्न सक्छ।
इरानकै लागि चुनौतीपूर्ण निर्णय
हर्मुज जलमार्ग बन्द गरिँदा इरान आफैं पनि ठूलो घाटामा पर्न सक्छ। हाल इरानले हरेक महिना करिब साढे तीन अर्ब अमेरिकी डलरको तेल यही जलमार्ग भएर निर्यात गर्छ। आर्थिक नाकाबन्दी, मुद्रास्फीति र जनअसन्तोषका बीच इरानले आफ्नै आम्दानी बन्द गर्ने निर्णय गर्नु आत्मघाती हुन सक्छ।
यद्यपि, सांकेतिक रूपमा केही समयका लागि जलडमरु बन्द गरिने सम्भावना भने इन्कार गर्न सकिँदैन। यसबाट इरानले अमेरिका र पश्चिमी मुलुकहरूलाई सन्देश दिन खोज्न सक्छ कि ऊ कडा जवाफ दिन सक्षम छ।
कानुनी र रणनीतिक जोखिम
हर्मुज जलमार्ग बन्द गर्नु अन्तर्राष्ट्रिय समुद्री कानुनअनुसार अवैधानिक ठहरिन्छ। यद्यपि, इरान संसदको उद्देश्य अमेरिकी ‘अवैधानिक हमला’को जवाफ दिनु र नैतिक दबाब सिर्जना गर्नु हो। तर, यस्तो निर्णयले अमेरिका र उसका साझेदार मुलुकहरूबाट थप सैन्य प्रतिकार निम्त्याउने जोखिम पनि बोकेको छ।
अमेरिका समुद्री व्यापारको स्वतन्त्रताका रक्षकको रूपमा आफूलाई प्रस्तुत गर्छ। अतीतमा उसले यस्तो हस्तक्षेपप्रति कडा प्रतिक्रिया जनाएको इतिहास पनि छ।
हर्मुज जलमार्ग बन्द गर्ने निर्णय केवल इरानको एकोहोरो कार्य भने होइन। यसले न केवल अमेरिका, तर इरानका आफ्नै आर्थिक हित, चीनजस्ता मुख्य साझेदार र सम्पूर्ण एसियाली अर्थतन्त्रमा गहिरो प्रभाव पार्न सक्छ। यही कारण खामेनीको सामु यो निर्णय राजनीतिक मात्र नभई कूटनीतिक, आर्थिक र रणनीतिक रूपले पनि गहिरो दोधारको विषय बनेको छ।
प्रकाशित मिति: ९ असार २०८२, सोमबार













प्रतिक्रिया