काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूप्रति हुने व्यक्तिगत गाली–गालीप्रति सहनशीलता देखाउँदै सहिदको बलिदान, जनताको संघर्ष र वर्तमान राजनीतिक प्रणालीमाथि हुने अपमानलाई कुनै हालतमा स्वीकार गर्न नसकिने स्पष्ट पारेका छन्।
मंगलबार प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिंदै प्रधानमन्त्री ओलीले सांसदहरूको आलोचना व्यक्तिगत धरातलमा सीमित हुनुपर्ने उल्लेख गरे। तर, प्रणाली, संविधान र लोकतान्त्रिक मूल्यविरुद्ध प्रहार हुने खालका टिप्पणीहरू स्वीकार्य नहुनेमा उनले जोड दिए।
“म व्यक्तिगत गाली र आलोचना सहन तयार छु,” प्रधानमन्त्री ओलीले भने, “तर यो संसद् सहिदको बलिदान र जनताको सपना उपहास गर्ने थलो हुन सक्दैन। लोकतान्त्रिक प्रणालीमाथिको अपमान सहिंदिन।”
संसद् जनताका सपना साकार पार्ने पवित्र मञ्च भएको उल्लेख गर्दै उनले लोकतन्त्र, राष्ट्रियता र संविधानप्रति सबै सांसद जिम्मेवार हुनुपर्ने बताए। प्रधानमन्त्री ओलीले संविधानको प्रभावकारी कार्यान्वयनमार्फत् मुलुकलाई ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्यमा लैजान सरकार कटिबद्ध रहेको जनाए।
“संविधानको रक्षा गरौं, प्रणालीलाई सबल बनाऔं,” उनले भने, “सरकारले सबै नागरिकको भरोसा जित्ने गरी अघि बढिरहेको छ। यसमा कसैलाई पनि शंका गर्नु आवश्यक छैन।”
बजेटका विषयमा उठेका जिज्ञासाहरूको जवाफ दिँदै उनले सीमित स्रोतसाधनबीच पनि सरकार बजेटलाई यथासम्भव सन्तुलित बनाउन प्रयासरत रहेको दाबी गरे। “हामी छिटो विकास चाहन्छौं, धेरै क्षेत्रमा काम गर्नुपर्छ,” प्रधानमन्त्रीले भने, “तर स्रोत सीमित छन्। माग र आपूर्तिको सन्तुलन मिलाउनेतर्फ आगामी दिनमा थप ध्यान दिइनेछ।”
प्रधानमन्त्री ओलीले वर्तमान सरकार जनअपेक्षा अनुसार देशलाई समुन्नतिको दिशामा अघि बढाउन प्रतिबद्ध रहेको उल्लेख गर्दै, “हामी विकास र सुशासनमा केन्द्रित छौं। सरकार कसैको विरुद्ध षड्यन्त्र गर्न चाहँदैन, त्यस्तो ‘खेल’ खेल्ने फुर्सद हामीसँग छैन,” भन्ने धारणा व्यक्त गरे।
प्रकाशित मिति: १० असार २०८२, मंगलबार












प्रतिक्रिया