काठमाडौं । मकवानपुरको हेटौडामा प्रहरीको सक्रियता बढेपछि बुधवार लागूऔषधसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार लागूऔषध ओसारपसारमा संलग्न भारतका तीन जना नागरिकलाई सवारी साधनसहित नियन्त्रणमा लिइएको हो।
२०८२ असार ११ गते बिहान करिब ६:०० बजे प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकप्वाइन्टमा चेकजाँचको क्रममा भारतको मोतीहारीबाट काठमाडौंतर्फ आउँदै गरेको BR 01 AW 1404 नम्बरको भारतीय गाडी जाँच गर्दा ठूलो परिमाणमा लागूऔषध बरामद भएको हो।
पक्राउ पर्नेहरूमा भारत बिहार राज्य मोतीहारी जिल्लास्थित पंचमिडियाका २६ वर्षीय उपेन्द्र यादव, २२ वर्षीय संजित कुमार यादव र ३५ वर्षीय सिकिन्दर महतो रहेका छन्। प्रहरी सहायक निरीक्षक सागर लुङ्वाको नेतृत्वमा खटिएको टोलीले शंका लागी सो गाडी जाँच गर्दा कारको सिटमुनि र पछाडिको डिक्कीभित्र फल्सबटम बनाइ लुकाई छिपाई राखिएको अवस्थामा लागूऔषध ट्रामाडोल २५ हजार ४५५ क्याप्सुल र ओनरेक्स–१०० मिलिलिटरका १२० बोतल फेला परेको थियो।
प्रहरीले लागूऔषध तथा प्रयोग गरिएको सवारीसाधन बरामद गरी तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पछिल्लो समय पूर्व–पश्चिम राजमार्ग हुँदै लागुऔषध तस्करी बढेपछि हेटौडा छिर्ने मुख्य नाका रातोमाटे चेकपोइन्टमा कडाइ गरिएको छ। कडाइसँगै पटक–पटक लागूऔषधसहित व्यक्ति पक्राउमा पर्न सफल भएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ११ असार २०८२, बुधबार













प्रतिक्रिया