काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब आफू राजनीतिक जीवनबाट अवकाश लिने तयारीमा रहेको बताएका छन्। चितवनको नारायणगढमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै उनले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने दृढता व्यक्त गरे।
प्रजातान्त्रिक आन्दोलनकी सशक्त अभियन्ता तथा स्वर्गीय नेता श्यामकृष्ण प्रधानकी धर्मपत्नी गौरीदेवी प्रधानको निधनपछि आयोजित श्रद्धाञ्जली कार्यक्रममा देउवाले पार्टीभित्रको अन्तर्घात र असहयोगी प्रवृत्तिका कारण कांग्रेसले बहुमत ल्याउन नसकेको गुनासो पोखे।
उनले भने, “हाम्रो पार्टीको मुख्य समस्या अन्तर्घात हो। टिकट पाएर उम्मेदवार बनेको व्यक्ति आफैं पार्टीका नेताबाट हराइन्छ। यदि हामी एक ढिक्का भएर अघि बढ्न सक्यौं भने कांग्रेस एक्लैले बहुमत ल्याउने सामर्थ्य राख्छ।”
देउवाले समावेशी र समानुपातिक विशेषतायुक्त नेपालको संविधान राम्रो भएको उल्लेख गर्दै भने, “संविधानले सबै जातजाति, समुदायको प्रतिनिधित्व सुनिश्चित गरेको छ। तर यो संरचनाले एकल बहुमत ल्याउन कठिन बनाएको छ। त्यसैले कुनै न कुनै पार्टीसँग गठबन्धन गर्नुपर्ने बाध्यता छ।”
उनले स्मरण गरे, “एक समयमा माओवादीसँग मिल्यौं, अहिले एमालेसँग पनि सहकार्य भयो। तर यदि हामी कांग्रेसभित्र एकता कायम गर्न सक्यौं भने फेरि पनि जनताले बहुमत दिइहाल्छन्।”
सभापति देउवाले स्व. श्यामकृष्ण प्रधान र गौरीदेवी प्रधानको योगदानको उच्च मूल्याङ्कन गर्दै बीपी कोइरालासँगको उनीहरूको निकट सम्बन्धको चर्चा गरे। “बीपीजीले उहाँहरूको घरमा बसेर अनेक रणनीति बनाउनु भएको थियो। म पनि त्यही बेलामा उहाँहरूसँग थुप्रैपटक भेटघाटमा सहभागी भएको थिएँ,” देउवाले स्मरण गरे।
२००६ सालदेखि कांग्रेसको राजनीतिमा होमिएकी गौरीदेवी प्रधानको गत शनिबार निधन भएको थियो। पार्टीका संघर्षशील र समर्पित नेतृको निधनले कांग्रेस परिवार शोकमा डुबेको छ।
प्रकाशित मिति: १३ असार २०८२, शुक्रबार












प्रतिक्रिया