काठमाडौं । नेपाली कांग्रेसले लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनाललाई पार्टीबाट निष्कासन गरेको छ। पार्टीको आधिकारिक उम्मेदवारलाई सहयोग नगरेको भन्दै उनलाई एक वर्षका लागि पार्टी सदस्यबाट निष्कासन गरिएको हो।
कांग्रेस केन्द्रीय अनुशासन समितिको असार १७ गतेको बैठकले खनालमाथि कारबाही गर्ने निर्णय गरेको हो। नवलपरासीका खनालले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पार्टी उम्मेदवारलाई असहयोग गरेको भन्दै कारबाही गरिएको समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले जानकारी दिए।
उनका अनुसार खनाललाई प्राप्त उजुरीका आधारमा स्पष्टीकरण मागिएको थियो तर जवाफ चित्तबुझ्दो नदेखिएको भन्दै कांग्रेस विधान २०२७ (संशोधनसहित) को धारा ३४ को उपधारा १ (क), (ख), (घ) र (ङ) अनुसार निष्कासन गरिएको हो।
सम्बन्धित निर्णयबारे पार्टी सभापति शेरबहादुर देउवा, लुम्बिनी प्रदेश र नवलपरासी जिल्लालाई समेत औपचारिक जानकारी गराइएको छ।

प्रकाशित मिति: २५ असार २०८२, बुधबार











प्रतिक्रिया