काठमाडौं । ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूका लागि अब सचेतना कक्षा अनलाइनमार्फत लिन सकिने व्यवस्था सुरु भएको छ। देशभरका ट्राफिक प्रहरी युनिटहरूले अब भौतिक उपस्थितिबिनै अनलाइन माध्यमबाट ट्राफिक सचेतना कक्षा सञ्चालन गर्न सक्नेछन्।
आइतबार गृहमन्त्री रमेश लेखकले प्रहरी प्रधान कार्यालयमा आयोजना हुने विशेष कार्यक्रममा अनलाइन ट्राफिक सचेतना कक्षाको औपचारिक शुभारम्भ घोषणा गर्नेछन्।
हालसम्म मादक पदार्थ सेवन (मापसे), ट्राफिक सिग्नल उल्लङ्घन (रातो बत्ती पार गर्ने), अत्यधिक गतिमा सवारी चलाउने (ओभर स्पिड), र लेन तोड्ने (लेन क्रस) चालकहरूलाई भौतिक रूपमा कक्षा लिइन्थ्यो। अब भने देशभर अनलाइन प्लेटफर्ममार्फत कक्षा सञ्चालन गर्न मिल्ने प्रविधि विकास गरिएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नवराज अधिकारीका अनुसार अनलाइन कक्षा लिन चालक नागरिक एपमा दर्ता भइसकेको हुनुपर्छ। “नागरिक एपमा आबद्ध चालकहरूले अब सजिलै अनलाइन कक्षा लिन सक्नेछन्,” उनले भने।
कोरोना महामारीको समयमा परीक्षणका रूपमा केही समयका लागि अनलाइन कक्षा सञ्चालन गरिएको अनुभवलाई आधार बनाएर यो प्रणालीलाई स्थायी बनाउने निर्णय गरिएको हो। अब यस प्रणालीमार्फत देशभरका ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूलाई सजिलै सचेत गराउन सकिने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: २९ असार २०८२, आइतबार












प्रतिक्रिया