काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको स्पेन भ्रमणमा संलग्न टोलीबारे छानबिन गर्न प्रहरी महानिरीक्षक (आईजिपी) दीपक थापालाई निर्देशन दिएका छन्।

सोमबार गृह मन्त्रालयमा आयोजित बैठकमा गृहमन्त्री लेखकले गृहसचिव गोकर्णमणि दुवाडी र आईजिपी थापासँग छलफल गर्दै भ्रमणमा गएका केही सहभागीहरू भिजिट भिसाको दुरुपयोग गरी विदेशमै बस्ने प्रयास गरेको भन्ने सार्वजनिक सूचनालाई गम्भीर रूपमा लिएर तत्काल छानबिन सुरु गर्न निर्देशन दिएका हुन्।

advertisement

मन्त्री लेखकले सरकारी प्रतिनिधिमण्डलबाहेकका व्यक्ति कसरी, कुन माध्यममार्फत, कुन संस्थाको समन्वयमा स्पेन पुगे?, भिसा प्रक्रिया कसले मिलायो? भन्ने विषयमा गहिरो अनुसन्धान गर्न आग्रह गरेका छन्।

यस प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो  र मानव बेचबिखन अनुसन्धान ब्युरोले संयुक्त रूपमा अनुसन्धान गर्नेछन्। छानबिनका क्रममा दोषी पाइएमा कानुनी कारबाही गरिने गृहमन्त्रीको सचिवालयले स्पष्ट पारेको छ।

प्रधानमन्त्री ओली असार १४ गते स्पेन भ्रमणमा गएका थिए भने असार २० गते प्रतिनिधिमण्डलसहित स्वदेश फर्किएका थिए। तर, त्यसपछि प्रतिनिधिसभाको असार २४ गतेको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले भ्रमणमा सहभागी केही व्यक्ति नेपाल नफर्किएको भन्दै प्रश्न उठाएकी थिइन्। त्यसलगत्तै केही संलग्न व्यक्ति हराइरहेको भन्दै विभिन्न सञ्चारमाध्यमहरूले समाचार प्रकाशन गरेका थिए।

प्रकाशित मिति: ३० असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com