काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच सम्भावित सैन्य द्वन्द्व रोकिएको श्रेय फेरि एकपटक आफूलाई दिएका छन्। नेटो महासचिव मार्क रुटसँगको हालैको भेटमा ट्रम्पले उक्त दाबी दोहोर्याएका हुन्।
उनले भने, “भारत र पाकिस्तान जिस्तो अगाडि बढिरहेका थिए, त्यसले गर्दा एक हप्ताभित्रै त आणविक युद्ध हुन सक्थ्यो। तर मैले उनीहरूलाई स्पष्ट भनेँ— जबसम्म तिमीहरू यो समस्या समाधान गर्दैनौ, अमेरिका तिमीहरूसँग व्यापारको कुरा पनि गर्ने छैन। त्यसपछि उनीहरूले द्वन्द्व रोके।”
ट्रम्पले यसअघि पनि आफ्नै पहलमा भारत–पाकिस्तानबीचको तनाव नियन्त्रणमा आएको दाबी गरिसकेका छन्। उनले पहिलोपटक मे १० मा सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’ मार्फत आफ्नो मध्यस्थतामा वार्ता सफल भई युद्धविराम भएको बताएका थिए।
तर भारतले ट्रम्पको यी दाबीहरूलाई पटक–पटक अस्वीकार गर्दै आएको छ। भारतीय विदेश मन्त्रालयले भारत–पाकिस्तानबीच भएको युद्धविराम सहमति स्वीकार गरे पनि अमेरिकी मध्यस्थता रहेको कुरालाई पुष्टि गरेको छैन।
पाकिस्तान र भारतबीचको सम्बन्ध विगतदेखि नै संवेदनशील रहँदै आएको छ। दुबै देश आणविक हतियार सम्पन्न छन् र सन् २०१९ मा पुलवामा आक्रमणपछिको पराकाष्ठामा तनाव चुलिएको थियो। यस्तो पृष्ठभूमिमा ट्रम्पले पटक–पटक ‘मैले युद्ध रोकाएँ’ भन्ने सार्वजनिक टिप्पणी गर्दा भारतको तर्फबाट स्पष्ट अस्वीकार आउने गरेको छ।
प्रकाशित मिति: ३१ असार २०८२, मंगलबार













प्रतिक्रिया