काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले जननायक बिपी कोइरालाको प्रजातान्त्रिक समाजवादको विचार नेपाल मात्र होइन, विश्वका लागि पनि सान्दर्भिक रहेको बताएका छन्।

बिपी कोइरालाको ४३औं स्मृति दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित ‘देश विकास र देशवासीको उन्नतिको आधार बिपी’ विषयक अन्तरक्रियामा बोल्दै उनले कांग्रेस आज पनि बिपीका विचारमै अघि बढिरहेको स्पष्ट पारे। “बिपीको विचार कांग्रेसले छाडेको छैन, देश अहिले पनि प्रजातान्त्रिक समाजवादकै मार्गमा छ,” कोइरालाले भने।

advertisement

उनले बिपी कोइरालाको अन्तर्राष्ट्रिय छविलाई स्मरण गर्दै कांग्रेस नेतृत्वले अहिलेको सन्दर्भमा पनि सशक्त अडान लिनुपर्ने उल्लेख गरे। विशेषगरी ‘कुलिङ अफ पिरियड’ जस्ता विवादास्पद मुद्दामा कांग्रेस सभापतिले प्रष्ट भूमिका लिनुपर्ने धारणा राखे।

कार्यक्रममा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले जनअपेक्षा अनुसार काम गर्न सरकारलाई आग्रह गरे। उनले कुलिङ अफ पिरियडको प्रावधान तत्काल सच्याउनुपर्ने भन्दै भूमि विधेयक जस्ता संवेदनशील विषयमा हतार नगर्न चेतावनी दिए। दुई ठूला दलबीच सरकार सञ्चालनका क्रममा देखिएका मतभेद छलफल र संवादबाट टुङ्ग्याउनुपर्ने उनको भनाइ थियो।

सहमहामन्त्री डा. प्रकाशशरण महतले बिपी कोइरालाको विचार लोकतान्त्रिक मूल्य र सामाजिक न्यायमा आधारित रहेको भन्दै आर्थिक समावेशीतामा जोड दिए। उनले कांग्रेस-एमाले सहमतिअनुसार संविधान संशोधन तत्काल कार्यान्वयनमा लैजान सरकारलाई आग्रह गरे।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालको लोकतान्त्रिक राजनीतिका संस्थापक बिपी नै भएको बताए। “बहुदलीय प्रणाली र नेपाली समाजवादको जग बिपीले राख्नुभएको हो,” उनले भने।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बिपीको विचार आत्मसात् गरे मात्र देशको समृद्धि सम्भव हुने उल्लेख गरे।

कार्यक्रममा बिपी स्मृति अस्पतालका अध्यक्ष उमेशजङ्ग रायमाझीले बिपी कोइरालालाई राष्ट्रनायकको रूपमा स्मरण गरे। उनले शिक्षा, स्वास्थ्य, साहित्यलगायत क्षेत्रमा बिपीको योगदान सदैव प्रेरणादायी रहेको बताए।

कार्यक्रम बिपी स्मृति प्रतिष्ठान, बिपी स्मृति अस्पताल र कांग्रेसको खेलकुद विभागको संयुक्त आयोजनामा सम्पन्न भएको हो।

प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com