काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद रणेन्द्र बरालीले देशको समग्र अवस्था निराशाजनक रहेको टिप्पणी गरेका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जनताले देशको नेतृत्वबाट अपेक्षा गरे पनि स्थिति झनै बिग्रँदै गएको बताए। “मगर समुदायमा एउटा भनाइ छ— ‘इलाङ भरस्टा, आलाङ भ्ररस्टा’, अर्थात् यता पनि बर्बादी, उता पनि बर्बादी,” बरालीले भने, “आज हाम्रो मुलुकको अवस्था त्यस्तै दोहोरो बर्बादीतर्फ उन्मुख देखिन्छ।”

उनले राज्य सञ्चालनको जिम्मेवारीमा रहेका नेताहरू अझ गम्भीर, उत्तरदायी र जनमुखी बन्नुपर्नेमा जोड दिए। “जनताले आशा गरेका व्यवहारहरू पाउन सकेका छैनन्,” उनले भने, “शासनप्रति नागरिकको विश्वास घट्दै गएको देखिन्छ।”

सांसद बरालीले सरकारभित्रको आन्तरिक कलहप्रति पनि व्यङ्ग्य गर्दै चर्को आलोचना गरे। “हुँदा–हुँदा माझ किरातकी छोरी र झापाली साक्षात् शिव चाम्लिङका छोराबीचको मल्ल युद्धले अर्को तमासा देखाइरहेको छ,” उनले भने।

उनको उक्त अभिव्यक्ति नेकपा एमालेभित्रको नेतृत्व सङ्घर्षतर्फ संकेत गर्दै गरिएको ठानिएको छ। बरालीले दलभित्रको गुटबन्दी, शक्ति संघर्ष र अस्थिरतालाई मुलुकको संकटको एक प्रमुख कारकको रूपमा प्रस्तुत गरे।

उनका अनुसार, राजनीतिक दलहरूले आन्तरिक एकता कायम गरेर मात्रै देशको समस्याको समाधान गर्न सक्ने अवस्था आउँछ, नत्र ‘इलाङ भरस्टा, आलाङ भ्ररस्टा’ को नियति फेरिँदैन।

प्रकाशित मिति: ८ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com