काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले श्रीमानलाई आम थुनुवाले पाउने अड्डासार सुविधा नदिएको भन्दै गृहमन्त्री रमेश लेखकलाई खुलेआम प्रश्न गरेकी छिन्।

बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पौडेलले अदालतले आदेश दिए पनि गृहमन्त्रीको निर्देशनमा अड्डासार रोकिने आरोप लगाइन्। उनले लेखिन्, “गृहमन्त्री रमेश लेखकजी, नमस्कार। आम थुनुवाले पाउने अड्डासार सुविधा मेरो श्रीमानका हकमा अदालतले आदेश दिँदा पनि किन रोकिन्छ? अदालतमा मुद्दाको पेसी चढेको दिन नै तपाईंको निर्देशनमा तपाईंका मान्छेबाट न्याय परिषद्मा उजुरी किन पर्छ?”

advertisement

पौडेलले गृहमन्त्रीमाथि न्यायालयलाई खुल्लमखुल्ला धम्क्याएको आरोप समेत लगाइन्। “उजुरीको ड्राफ्ट आफ्नै कोठामा तयार गरेर, समाचारको लिङ्क सचिवालयमार्फत सम्बन्धित सबैका मोबाइलमा पठाउन आदेश दिनु, अनि न्यायाधीशलाई तर्साउन नाङ्गिएर लाग्नु किन? पेशी चढेकै दिन न्याय परिषद्मा उजुरी पुगेपछि, तपाईंहरूको मुठ्ठीमा रहेको संरचनाभित्र कुन न्यायमूर्तिले आफ्नो करियर दाउमा राखेर सही फैसला गर्ने आँट गर्ला? न्यायालयलाई धम्क्याउने यो अठोट तपाईंलाई कहाँबाट आउँछ?” उनले प्रश्न गरिन्।

रुपन्देही कारागारमा श्रीमानलाई भेट्न जाँदा आफूलाई पछ्याउनेहरूको उद्देश्यप्रति पनि पौडेलले शंका व्यक्त गरिन्। “घरबाट निस्किएपछि मेरो पछि पछि किन लाग्नुहुन्छ? केको डर हो?” उनले फेसबुक पोस्टमा लेखिन्।

प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com