घोराही ।  पछिल्लो समय सारङ्गी बजाएर जीविकोपार्जन गर्नेे गन्धर्व समुदायको सङ्ख्या घट्दै गएको छ । नयाँ पुस्तामा सारङ्गी बाजाप्रति रुचि नभएका कारण यसको सङ्ख्या घट्दै गएको हो ।

गाउँमा सारङ्गी बाजा बजाउने मानिस नहुँदा बनाएका सारङ्गी बिक्रीमा पनि समस्या भइरहेको घोराही उपमहानगरपालिका–११ नयाँ बस्ती निवासी डाइवर गन्धर्व बताउछन् ।

advertisement

करिब तीन दशक बढी समयदेखि सारङ्गी बाजा बनाउँदै आएका डाइवर पछिल्लो समय आफ्नो पेसा सङ्कटमा परेको बताछन् । सारङ्गी बजाउने मानिस कम हुँदै जाँदा बिक्री पनि हुन छाडेको भन्दै उनले भने, “पहिले सारङ्गी बिक्ने हुँदा राम्रै आम्दानी हुन्थ्यो, तर अहिले सारङ्गी बिक्नै छाडिसकेको छ । बनाउने काममात्र होइन, अब त कोठामा सजाएर राख्ने काम मात्र भएको छ ।”

डाइवर गन्धर्वका अनुसार समय परिवर्तनसँगै गन्धर्वहरूले गीत गाउन र सारङ्गी बजाउन छाड्दै जाँदा यो पेसा नै ओरालो लागेको छ । पहिलेजस्तै सबैले गीत गाउने र सारङ्गी बनाउने गरे त राम्रै हुन्थ्यो होला तर अहिले गाउँमा सारङ्गी बजाउन जान्ने सीमित मानिसमात्र छन् । गाउँमा सारङ्गी बजाउने मानिस नहुँदा बिक्री पनि हुन छाडेको उहाँले बताए । गाउँमा सारङ्गी बजाउने कोही भए पो बनाएका सारङ्गी बिक्थे । अहिले बजाउने मान्छे नै छैनन्, त्यही भएर बिक्री पनि हुँदैनन् । बनाएका नबिक्दा थप नयाँ बनाउन पनि मन लाग्दैन । पहिले महिनामा सात–आठवटा सारङ्गी बिक्री हुने गरे पनि अहिले दुई–तीन जतिमात्र बिक्री हुने गरेको बताउछन् ।

त्यसैगरी, सारङ्गी बनाउने कलामात्र सङ्कटमा परेको होइन, आवश्यक सामग्रीको अभाव पनि मुख्य समस्या बनेको छ । सारङ्गी बनाउन राम्रो काठ चाहिने भए पनि पछिल्लो समय खमारी पाउनै समस्या भएको उहाँ बताउछन् । जिल्लामै सारङ्गी बनाउने आफूमात्र भएको भन्दै उनि भन्छन्, “आफ्नो मौलिक बाजा बजाउन र बनाउन नयाँ पुस्ताले चासो नदिने हो भने सारङ्गी बनाउन काठमात्र होइन, आफ्नो पहिचान नै हराउने जोखिम छ ।”

सामुदायिक वनका कारण जङ्गलमा जान नपाइने र चिनेका काष्ठ उद्योगबाट खमारी काठ ल्याएर सारङ्गी बनाउने गरेको उहाँ बताउछन् । उहाँका अनुसार साना आकारका सारङ्गी रु चार हजारदेखि पाँच हजारसम्म बिक्री हुने गरेका छन् भने ठूला र आकर्षक डिजाइनका सारङ्गी रु नौदेखि १० हजारसम्ममा बिक्री हुने गरेको डाइवर बताउछन् ।

सारङ्गीको महत्व र संरक्षण घट्दै जाँदा सारङ्गी बजाएरै जीविका चलाउनेलाई चिन्ता लाग्न थालेको छ । सारङ्गी बाजाको संरक्षण गर्दै, यसलाई व्यावसायिक बनाउन सके, कला संस्कृतिको संरक्षण र रोजगारीको अवसर सृजना हुने गन्धर्व समुदायका मानिस बताउँछन्।

  • रासस 

प्रकाशित मिति: १ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com