काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेनजी आन्दोलनसहित लोकतन्त्रका लागि भएका सबै क्रान्ति र संघर्षको बलिदानीबाट आर्जित उपलब्धि जोगाउनुपर्ने बताएका छन्।
संविधान दिवसको पूर्वसन्ध्यामा बिहीबार जारी गरिएको भिडियो सन्देशमा उनले धूलो हेरेर निराश हुने समय नभएको, बरु धूलो झारेर पुनर्निर्माणको इच्छाशक्ति देखाउनुपर्ने स्पष्ट पार्दै मुलुकलाई पुनः निर्माणको बाटोतर्फ डोर्याउने संकल्प व्यक्त गरे।
उनले भने, हामी अहिले ७० भन्दा बढी युवाको जघन्य हत्याको शोकमा छौं। भदौ २३ को नरसंहार र २४ गतेको विनाशकारी घटनाले सार्वजनिक सेवा अस्तव्यस्त पारेको छ। यतिखेर धूलोमा निराश बस्ने होइन, धूलो टक्टक्याएर निर्माणको इच्छाशक्ति देखाउने समय हो। त्यसैले सम्पूर्ण पार्टी संरचना र जनसमुदायलाई देशव्यापी पुनर्निर्माणमा उच्च प्राथमिकताका साथ लाग्न आह्वान गर्दछु।
दाहालले २३ र २४ भदौका घटनाबारे स्वतन्त्र र निष्पक्ष उच्चस्तरीय छानबिन आयोग गठन गर्न र दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गरे। उनका अनुसार, जेनजी आन्दोलनलाई समयमै विवेकपूर्ण ढङ्गले सम्बोधन गर्न नसक्दा मुलुक तरल अवस्थामा प्रवेश गरेको छ।
त्यस्तै, जेनजीले अहिले उठाएका धेरै मागहरू आफूहरूले दशकअगाडि नै फरक मतका रूपमा दर्ज गरिसकेको दाबी पनि उनले गरे।
प्रकाशित मिति: २ आश्विन २०८२, बिहिबार













प्रतिक्रिया