काठमाडौं । संविधान दिवसको अवसरमा राष्ट्रिय सभाका अध्यक्ष विमला घिमिरेले राष्ट्रिय सभालाई जनमुखी र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएकी छन्।
शुभकामना सन्देश जारी गर्दै उनले समितिहरूलाई सबल पार्दै नीतिगत छलफललाई गहिरो बनाउन, नागरिक सरोकारका विषयमा नियमित बहस गर्न तथा सरकारलाई सुझाव दिने अभ्यासलाई संस्थागत गर्नुपर्ने आवश्यकता औँल्याइन्।
अध्यक्ष घिमिरेले हालका आक्रमण तथा असुरक्षाका घटनाले लोकतन्त्रको आधारलाई कमजोर बनाउने प्रयास भएको उल्लेख गर्दै हिंसा र असहिष्णुताबाट समाधान खोज्न नसकिने स्पष्ट पारिन्। “लोकतन्त्रलाई सबल बनाउन संवाद, सहमति र सहकार्य अपरिहार्य छ, उनको भनाइ छ।
उनले व्यवस्था परिवर्तनभन्दा संस्थागत सुदृढीकरणमा ध्यान दिनुपर्नेमा जोड दिँदै लोकतन्त्रको विकल्प पुनः लोकतन्त्र नै भएको तथ्यलाई आत्मसात् गर्दै सामाजिक रुपान्तरणलाई छिटो गतिमा अघि बढाउनुपर्ने धारणा राखिन्।
ठूलो त्याग, बलिदान र संघर्षपछि प्राप्त संविधानलाई जनजीविकासँग जोडेर कार्यान्वयन गर्नु हाम्रो साझा जिम्मेवारी हो, उनले भनिन्। संविधानको प्रगतिशील कार्यान्वयनमार्फत समृद्धिको यात्रामा अघि बढ्नु अहिलेको प्राथमिकता रहेको उनले दोहोर्याइन्।
घिमिरेले संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधतालाई आत्मसात् गर्दै समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तमार्फत समतामूलक समाज निर्माण गर्ने संकल्प गरेको उल्लेख गरिन्। संघीयता, धर्मनिरपेक्षता, लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, आवधिक निर्वाचन, प्रेस स्वतन्त्रता तथा स्वतन्त्र र सक्षम न्यायपालिका संविधानका आधारभूत विशेषता भएको उनले स्मरण गराइन्।
उनको भनाइमा, संविधानअनुसार राज्य सञ्चालन गर्नु सबै निकाय र नेतृत्वको साझा दायित्व हो। जननिर्वाचित संस्थाहरूलाई क्रियाशील बनाएर मात्र लोकतन्त्रको सार्थकता स्थापित गर्न सकिने उनले औंल्याइन्।
प्रकाशित मिति: ३ आश्विन २०८२, शुक्रबार













प्रतिक्रिया