काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ पुस्तासँग सहकार्य गर्दै उनीहरूलाई मूलधारको राजनीतिमा जोड्नुपर्ने आवश्यकता औंल्याएका छन्।
संविधान दिवसको अवसरमा शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उनले युवाहरूको असन्तोषलाई सम्बोधन गर्दै एमाले नै युवा र जनताको भाव बोकेको पार्टीका रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
उनले भने, ‘युवाहरू राज्य र राजनीतिक दलहरूप्रति असन्तुष्ट देखिएका छन्। तिनै युवालाई राजनीतिमा आकर्षित गर्न हामीले निरन्तर प्रयास गर्दै आएका छौँ। उनीहरूलाई मूलधारमा ल्याउन हातेमालो गर्न आवश्यक छ।’
महासचिव पोखरेलले पार्टीले हरेक चरणमा आफ्ना गतिविधिको समीक्षा गर्दै आएको उल्लेख गर्दै युवाप्रतिको रुचि घट्दै गएको निष्कर्षपछि वडास्तरमै नयाँ पुस्तालाई समेट्ने अभियान अघि बढाइएको जानकारी दिए।
यस क्रममा उनले नेता–कार्यकर्ताको सम्पत्ति तोडफोड गर्ने वा आगजनीजस्ता क्रियाकलापलाई अलोकतान्त्रिक भन्दै ती गतिविधि लोकतन्त्रविरुद्धको प्रहार भएको टिप्पणी गरे। पोखरेलका अनुसार यस्तो काम नयाँ पुस्ताको आन्दोलनको नाममा अन्य उद्देश्यसहित घुसपैठ गर्नेहरूले गरिरहेका छन्।
कार्यक्रममा उनले देशभर क्षति पुगेका संरचनाको पुनर्निर्माणका लागि एमाले एकजुट भएर अघि बढ्ने प्रतिवद्धता पनि व्यक्त गरे।
प्रकाशित मिति: ३ आश्विन २०८२, शुक्रबार












प्रतिक्रिया