काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जेन–जी आन्दोलनले उठाएका जायज माग सम्बोधन गर्दै आन्दोलनका क्रममा घटेका अमानवीय घटनाको छानबिनको माग गरेका छन्। शुक्रबार संविधान दिवसका अवसरमा शुभकामना सन्देश दिँदै महामन्त्री शर्माले यस्तो बताएका हुन्।
शर्माले ‘सरकारले अविलम्ब चार वटा समिति निर्माण गर्न’ माग गरेका छन्। जसमा पहिलोमा भदौ २३ गते जेन-जीको प्रदर्शनमा भएको अत्यधिक बल प्रयोगको घटनामा न्यायिक आयोग, दोस्रोमा भदौ २४ गतेको प्रदर्शनमा भएको घुसपैठ पश्चात् तोडफोड र आगजनीको सम्पूर्ण छानबिन गर्न उच्चस्तरीय आयोग, तेस्रोमा भ्रष्टाचारका विभिन्न मुद्दा उपर उच्चस्तरीय शक्तिशाली छानबिन र चौथोमा २०४६ यता उच्च पदमा पुगेका प्रत्येकको सम्पत्तिको छानबिन गर्न शक्तिशाली उच्चस्तरीय आयोग गठन गर्न माग गरेका छन्।
‘अहिलेसम्मको राजनीतिक यात्रामा म जम्माजम्मी एक पटक सांसद बनेँ, तर अपिल गर्छु –मेरो जग्गा जमिन, बैंक खाता सबै सम्पत्तिको जाँच गरियोस्,’ शर्माले लेखेका छन्, ‘राजनीतिक नेतृत्वमा रहेका हामी सबै नै परीक्षणका लागि तयार बनौँ।’
प्रकाशित मिति: ३ आश्विन २०८२, शुक्रबार













प्रतिक्रिया