काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई वर्तमान चुनौतीपूर्ण अवस्थाबाट अघि बढाउन पुनर्गठन वा विशेष महाधिवेशनको माग गरेका छन्। शुक्रबार पार्टी कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकमा उनले यी दुई विकल्प अघि सारेका हुन्।
थापाले पार्टीलाई दायित्व र जिम्मेवारी पूरा गर्न आत्मसमीक्षा, आत्ममन्थन र आत्मसंकल्पसहित आमूल परिवर्तन आवश्यक रहेको बताए। उनका अनुसार विगतमा भएका गल्ती र कमजोरी स्वीकार्दै विधिसम्मत ढंगले पार्टी पुनर्गठन गर्नुपर्छ। उनले पार्टी अहिले घाइते अवस्थामा रहेको भए पनि जिम्मेवारीबाट भाग्न नहुने स्पष्ट पारे।
उनले विशेषगरी युवा पुस्ताको आन्दोलनले उठाएको सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माणको मागलाई कांग्रेसले सम्बोधन गर्नुपर्नेमा जोड दिए। संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान रक्षा गर्दै अहिंसा, नागरिक स्वतन्त्रता र विधिको शासनलाई जोगाउने दायित्व कांग्रेसकै हो, उनले भने।
थापाले दोस्रो विकल्पका रूपमा महाधिवेशनलाई अघि सारे। उनका अनुसार पार्टी विधानअनुसार कार्यसमितिको कार्यकाल मंसिरमा सकिने भएकाले म्याद थप्न नमिल्ने अवस्था छ। त्यसैले २०८२ मंसिर मसान्तभित्र नियमित अधिवेशन सम्पन्न गर्नुपर्ने उनको भनाइ छ। उनले हालका क्रियाशील सदस्य कायम राख्दै १ महिनाभित्र नयाँ सदस्यता लिन समय तोक्ने र त्यसकै आधारमा अधिवेशन गर्न सकिने प्रस्ताव गरे।
त्यस्तै उनले विधानले विशेष कारणमा ४० प्रतिशत सदस्यको माग वा केन्द्रीय समितिको निर्णयबाट विशेष महाधिवेशन बोलाउन सकिने व्यवस्था गरेको भन्दै अहिलेको असामान्य परिस्थितिमा तत्काल विशेष महाधिवेशन गर्नुपर्ने धारणा प्रस्तुत गरे।
बैठकमा अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि विशेष अधिवेशन बोलाउनुपर्ने माग गरेका थिए।
प्रकाशित मिति: ४ आश्विन २०८२, शनिबार













प्रतिक्रिया