काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले ‘जेनजी’ आन्दोलनका क्रममा क्षति पुगेको पार्टी केन्द्रीय कार्यालय पुनर्निर्माणका लागि सहयोग अभियान सुरु गर्नुपर्ने बताएका छन्।
शनिबार पार्टी कार्यालयको अवलोकनपछि उनले देशभरका नेता तथा कार्यकर्ताबाट न्यूनतम १०-१० रुपैयाँ संकलन गरेर कार्यालय निर्माण अभियान अघि बढाउन सकिने सुझाव दिए।
‘कम्तीमा १० रुपैयाँ दिनु सबैको जिम्मेवारी हो, इच्छाअनुसार धेरै दिन चाहनेले पनि सहयोग गर्न सक्छन्। यसरी जुटेमा कार्यालय पुनःनिर्माण मात्र होइन, सबै कार्यकर्ताको अपनत्व पनि बढ्छ,’उपसभापति गुरुङले भने।
उनले पार्टीलाई महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यले दिएका सुझावअनुसार अघि बढाउनुपर्नेमा जोड दिए। साथै, २०४६ सालयता लाभका पद सम्हालेका नेता तथा कर्मचारीको सम्पत्ति छानबिन गर्नुपर्ने माग आफूले पटक–पटक उठाउँदै आएको स्मरण गर्दै गुरुङले त्यसबेला नै ध्यान दिएको भए आजको अवस्था नआउने टिप्पणी गरे।
प्रकाशित मिति: ४ आश्विन २०८२, शनिबार













प्रतिक्रिया