काठमाडौं । नेकपा (एमाले) निकट अनेरास्ववियु बागमती प्रदेशका केन्द्रीय सदस्य र जिल्लास्तरीय नेताहरूले अध्यक्ष डा. सुजन कडारियाको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै तत्काल नयाँ नेतृत्व चयन गर्न माग गरेका छन्।

प्रदेशका केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष र संयोजकहरूले संयुक्त रूपमा जारी गरेको ध्यानाकर्षण पत्रमा डा. कडारियाको पछिल्ला गतिविधि, दोहोरो राजनीतिक आचरण र राजीनामाको नाटकले संगठनको गरिमा गम्भीर रूपमा क्षति पुर्याएको उल्लेख छ।

advertisement

ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘संकटको घडीमा संगठनलाई बलियो बनाउनुपर्ने अध्यक्ष उल्टै भाग्ने, राजीनामाको नाटक गर्ने, सार्वजनिक रूपमा मौन रहँदा व्यक्तिगत रूपमा निराशावादी सन्देश प्रवाह गर्ने जस्ता व्यवहारले विद्यार्थी आन्दोलनप्रति निष्ठावान कार्यकर्ताहरूलाई निराश र भ्रमित बनाएको छ।’

नेताहरूले कडारियाको राजीनामापछि ‘विद्यार्थी संगठन सकियो’ भन्ने जस्ता अभिव्यक्तिहरू शहीदहरूको बलिदानप्रतिको अपमान भएको आरोप लगाएका छन्। उनीहरूले व्यक्तिगत स्वार्थ र अवसरवादका आधारमा आन्दोलन चलाउने प्रवृत्तिको कडा विरोध गर्दै संगठनलाई बचाउन तत्काल ठोस कदम चाल्न आह्वान गरेका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक राजीनामालाई स्वीकार गर्दै उनीहरूले अब नयाँ, जिम्मेवार र स्पष्ट दृष्टिकोण भएको नेतृत्व रोज्नुपर्ने माग गरेका छन्।

ध्यानाकर्षण पत्रमा थप भनिएको छ, ‘हामी सिंगो बागमती प्रदेशका हस्ताक्षरकर्ताहरू केन्द्रीय अध्यक्षले सामाजिक सञ्जालमार्फत राजीनामा सार्वजनिक गरिसकेका अवस्थामा अनेरास्ववियुको तत्काल बैठक बसोस् र संगठनलाई नयाँ नेतृत्वको हातमा जिम्मेवारी सुम्पियोस् भन्ने स्पष्ट माग गर्दछौं। महाधिवेशनबाट प्राप्त विश्वास र म्यान्डेटलाई अपमान गर्ने व्यक्तिलाई अब स्विकार्न सकिन्न। संगठनलाई अझ ठूलो संकटमा जान नदिन तुरुन्तै स्वच्छ, दृढ र जिम्मेवार नेतृत्व रोज्नु आजको ऐतिहासिक आवश्यकता हो।’

प्रकाशित मिति: ४ आश्विन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com