काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रदेश र स्थानीय सरकार खारेज गर्नुपर्ने माग उठाउँदै विद्यमान प्रणालीलाई ‘भ्रष्टाचारको मुहान’ करार गरेका छन्।

शनिबार काठमाडौंमा सुरु भएको आजपाको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै साहले अहिलेको संरचना असफल र भ्रष्ट भएकाले मुलुक उकास्नै नसक्ने बताए। उनका अनुसार सरकार मात्र भ्रष्ट भएकाले त्यसलाई खारेज गर्दै संघीयतालाई अझ सबल बनाउनुपर्छ। ‘भ्रष्ट व्यवस्था भत्काइएन भने देश बन्न सक्दैन,’ उनले चेतावनी दिए।

advertisement

साहले मुलुकमा व्यापक रूपमा मौलाएको भ्रष्टाचार, कुशासन, अनियमितता र लुटपाट अन्त्य गर्न निर्णायक कदम चाल्नुपर्ने आवश्यकता औँल्याए। उनले दुई वर्षअघि आजपाले तेस्रो जनआन्दोलनको आह्वान गरेको स्मरण गर्दै अहिले जेन–जी पुस्ताले सुरु गरेको विद्रोहलाई सकारात्मक भएको बताए।

उनले भने– ‘भ्रष्टाचार, कुशासन र दलहरूको लुटतन्त्रका कारण राष्ट्रियता, लोकतन्त्र र अर्थतन्त्र धरासायी हुँदै गएको छ। त्यसैले संविधान र व्यवस्था नै गलत भएको स्वीकार गर्नुपर्छ। आवश्यक परे संविधान खारेज गरेरै भए पनि जेन–जी पुस्ताका माग सम्बोधन गर्नुपर्छ।’

साहले संसद, सर्वोच्च अदालत र सिंहदरबारजस्ता प्रमुख राज्य निकायहरूमा षड्यन्त्रपूर्ण आक्रमण भएको दाबी गर्दै घटनाहरूको उच्चस्तरीय छानबिन गर्न आग्रह गरे। साथै उनले जेन–जी आन्दोलनलाई अपहरण गर्ने र युवाको भावनालाई धोका दिने प्रयास भइरहेको आरोप पनि लगाए।

त्यसैगरी, परराष्ट्र र रक्षा मन्त्रालय लामो समयदेखि नेतृत्वविहीन रहेको भन्दै साहले सुरक्षा निकाय र तिनका नेतृत्वको भूमिका पुनर्मूल्यांकन गर्न आवश्यक रहेको औंल्याए।

प्रकाशित मिति: ४ आश्विन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com