काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले नेपाल धितोपत्र बोर्ड (सेबोन)लाई नेप्से सूचकांक गणनामा प्रयोग हुँदै आएको १५ मिनेटको औसत मूल्य गणना प्रणाली हटाउन निर्देशन दिएका छन्।

मन्त्रीको निर्देशनपछि सेबोनले आजै (शनिबार) सञ्चालक समितिको बैठक बसालेर करिब ६ महिनाअघि लागू गरिएको व्यवस्था खारेज गर्ने तयारी गरेको हो।

advertisement

हालैको जेन–जी आन्दोलनपछिका दिनहरूमा सेयर बजार लगातार ओरालो लागिरहेको छ। विशेषगरी बिहीबारको कारोबारमा तीनपटक नकारात्मक सर्किट लागेपछि लगानीकर्ता र ब्रोकरहरूले १५ मिनेटको औसत मूल्य गणनालाई प्रमुख कारण बताउँदै तत्काल हटाउन माग गर्दै आएका थिए।

२०७८ चैत ७ गतेदेखि लागू भएको यस व्यवस्थाअनुसार हरेक दिन २:४५ देखि ३:०० बजेसम्म भएको कारोबारको भारित औसत मूल्यलाई क्लोजिङ प्राइस मान्ने प्रावधान थियो। खराब वित्तीय अवस्थाका कम्पनीहरूको मूल्य अस्वाभाविक रूपमा बढ्न नदिन भन्दै सो प्रणाली लागू गरिएको भए पनि यसको प्रभाव उल्टै बजारमाथि नकारात्मक परेको लगानीकर्ताको गुनासो छ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईंले पनि १५ मिनेटको प्रणाली हटाउनुपर्ने प्रस्ताव सेबोनमा पठाइसकेका छन्। उक्त प्रस्तावलाई नेप्से सञ्चालक समितिले पारित गरिसकेको र अब अन्तिम निर्णय सेबोनको आजको बैठकबाट हुने बताइएको छ।

बिहीबार सेयर बजारमा करिब १६० अंकको ठूलो गिरावट आएपछि केही लगानीकर्ताले सेबोन कार्यालय घेराउ गर्दै तत्काल व्यवस्था खारेज गर्न माग गरेका थिए। मन्त्री खनालको निर्देशनपछि उनीहरूको दबाब अझ बढेको विश्लेषण गरिएको छ।

प्रकाशित मिति: ४ आश्विन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com