काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०४६ सालपछिका सबै सार्वजनिक पदधारीहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्नुपर्ने माग गरेका छन्।

शनिबार एक भिडियो सन्देश जारी गर्दै थापाले कांग्रेसभित्र व्यापक पुनर्संरचनाका लागि विशेष महाधिवेशन बोलाउनुपर्ने प्रस्ताव पनि अघि सारेका छन्। साथै, सरकार समक्ष जेन–जी आन्दोलनमा भएको दमन र त्यसपछिको हिंसात्मक घुसपैठको निष्पक्ष छानबिन गरिनुपर्ने माग उठाएका छन्।

advertisement

थापाले भने, ‘आन्दोलनले उठाएका भ्रष्टाचार र सुशासनका माग पूरा नभएसम्म म पीडित परिवार भेट्न नैतिक रूपमा सक्षम छैन।’ उनले अन्तरिम सरकारले भदौ २३ र २४ गतेका घटनाहरूको छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने पहिलो माग राखेका छन्।

उनको दोस्रो माग भनेको २०४६ सालपछि मन्त्री, सांसद र अन्य सार्वजनिक पदमा रहेकाहरूको सम्पत्ति, जग्गा–व्यापार सबै छानबिन गर्न सक्षम आयोग गठन गर्नु हो। थापाले आफू चार पटक सांसद र मन्त्री भइसकेको स्मरण गर्दै आफूबाटै छानबिन सुरु गर्न तयार रहेको प्रतिबद्धता पनि व्यक्त गरे।

थापाले कांग्रेसको विगतको भूमिकामा आत्मसमीक्षा गर्दै पार्टीले मुद्दा उठाए पनि कहिल्यै टुंगोमा नपुर्याएको स्वीकार गरे। उनले दुई विकल्प प्रस्तुत गरे–पुरानो सदस्यता खारेज गरी नयाँ सदस्यता खोलेर १५औं महाधिवेशन गर्नु, वा पुरानो महाधिवेशन प्रतिनिधिबाट विशेष महाधिवेशन बोलाएर नयाँ नेतृत्व चयन गर्नु।

थापाले भने, ‘म पार्टीको साधारण सदस्य भएर बस्न तयार छु, तर देशभन्दा माथि पार्टी छैन। सुधारको अभियानबाट पछि हट्ने छैन।’

यसैगरी, जेन–जी आन्दोलनमा ज्यान गुमाएका युवाहरूको १३औं पुण्यतिथिमा श्रद्धाञ्जली अर्पण गर्दै थापाले भत्किएका घर र कार्यालय पुनर्निर्माण हुने तर गुमेका जीवन कहिल्यै फर्कने नसक्ने भन्दै दुःख व्यक्त गरे।

प्रकाशित मिति: ४ आश्विन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com