काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले हाल गठन भएको अन्तरिम सरकार संविधानसम्मत ढंगले बन्न नसकेको आरोप लगाएका छन्।
आइतबार बिहान महाराजगञ्जस्थित आफ्नो जलेको घरमा पत्रकार सम्मेलन गर्दै उनले संसदमार्फत अनुमोदन गरेर नयाँ सरकारलाई वैधानिकता दिन सकिने भए पनि त्यसो हुन नसकेको बताए।
‘अन्तरिम सरकारलाई संविधानसम्मत बनाउन सकिन्थ्यो, तर दुर्भाग्यवश त्यो भएन,’ महतले भने।
उनले पछिल्ला घटनाक्रमलाई लोकतान्त्रिक व्यवस्थामाथि आक्रमणको रूपमा चित्रण गर्दै लोकतन्त्रलाई संस्थागत गर्नुपर्ने बेला उल्टै कमजोर पार्ने काम भएको टिप्पणी गरे।
‘दलका नेतृत्वबाट कमजोरीहरू भएका छन् भन्नेमा दुई मत छैन,’ उनले भने, ‘तर ती कमजोरीलाई कानुनसम्मत प्रक्रियाबाटै समाधान खोज्नुपर्छ। अर्को कुनै माध्यमबाट न्याय सम्भव हुँदैन।’
महतले लोकतान्त्रिक संवैधानिक व्यवस्थाभित्र रहेर मात्रै सुशासन र सुधार सम्भव हुने उल्लेख गर्दै नवयुवा पुस्ताले लोकतान्त्रिक मूल्यमा विश्वास गर्ने भएकाले अस्वाभाविक घटनामाग्रि रहेका प्रवृत्ति टिक्न नसक्ने विश्वास व्यक्त गरे।
उनले सत्यतथ्य उजागर गर्न निष्पक्ष छानबिन आवश्यक रहेको बताउँदै दोषीलाई कानुनी कारबाही गर्नुपर्नेमा जोड दिए।
भ्रष्टाचारमुक्त समाज निर्माण सबैको साझा जिम्मेवारी भएको बताउँदै महतले दलका सबै नेताहरू भ्रष्टाचारी हुन् भन्ने सामान्यीकरण गलत भएको स्पष्ट पारे।
‘गलत गर्नेहरूलाई कानुनी कारबाही हुनुपर्छ, तर देश र जनताको सेवामा इमानदारीपूर्वक लागेको नेतृत्व पनि छ,’ उनले भने।
उनले अन्त्यमा भने, ‘कसैले तोकेर होइन, जनताले नै नेताको मूल्यांकन गर्छन्। यही संसारभर प्रचलित सर्वोत्तम पद्धति हो।’
प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार













प्रतिक्रिया