काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई ‘उपयोग गर्ने’ नीति लिएको जनाएको छ।
भदौ २३ देखि २६ गतेसम्म कपिलवस्तुको शिवगढीस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकमा यस्तो नीति लिइएको हो। तर बैठककै बीचमा भएको ‘जेनजी विद्रोह’ का कारण देशको राजनीति आकस्मिक रूपमा बदलिएको भन्दै औपचारिक निर्णय भने नभएको स्थायी समिति सदस्य कर्णजित बुढाथोकीले स्पष्ट पारे।
उनका अनुसार पार्टीले पहिले नै २०८४ सालको निर्वाचनमा भाग लिने निर्णय गरिसकेको थियो। ‘सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ गते गर्न लागेको निर्वाचनमा हामी सहभागी हुन्छौं। समाजवादी व्यवस्था स्थापना गर्ने लक्ष्यसहित निर्वाचनलाई उपयोग गर्छौं। तर पछिल्लो विशेष राजनीतिक परिस्थिति बनेकाले छलफल जारी छ, आधिकारिक निर्णय भने भएको छैन,’ बुढाथोकीले भने।
समाजवादी व्यवस्था स्थापना गर्नका लागि माओवादी घटकहरूसँग एकता, विचार मिल्ने अन्य कम्युनिस्ट दलहरूसँग सहकार्य तथा मोर्चाबन्दी आवश्यक हुने उनको भनाइ छ।
भदौ २३ र २४ गते जेनजी आन्दोलनले विद्रोहको रूप लिएपछि केपी शर्मा ओली नेतृत्वको कांग्रेस–एमाले गठबन्धन सरकार पतन भएको थियो।
प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार













प्रतिक्रिया