काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले विगत वर्षको असारमा प्रतिनिधिसभा विघटनपछि कांग्रेस–एमाले मिलेर बनेको सरकारकै असफल नीतिका कारण जेन–जी आन्दोलनको पृष्ठभूमि तयार भएको आरोप लगाएका छन्।

उनका अनुसार दुई ठूला दल सम्मिलित केपी शर्मा ओली नेतृत्वको सरकारले सुशासन, सेवा प्रवाह र विकास निर्माणलाई उपेक्षा गरी बिचौलिया र स्वार्थसमूहको हितलाई प्राथमिकता दिएकोले व्यापक असन्तोष उत्पन्न भयो, जुन अन्ततः जेन–जी विद्रोहका रूपमा विस्फोट भएको हो।

advertisement

प्रमुख प्रतिपक्षका रूपमा माओवादी केन्द्रले बारम्बार चेतावनी दिँदा पनि बेवास्ता गरिएको भन्दै पुनले भने, ‘यो बेवास्ताको परिणाम केवल कांग्रेस–एमालेले मात्र होइन, समग्र मुलुकले भोग्नुपर्‍यो।’ अनन्तले राष्ट्रपति भवन, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालतसहित देशभरका सरकारी संरचना जेन–जी आन्दोलनका क्रममा खरानी भएको उल्लेख गर्दै यसको नैतिक जिम्मेवारी कुशासनलाई संरक्षण गर्ने दल र नेतृत्वले लिनुपर्ने बताए।

उनले आन्दोलनको मूल कारण आन्तरिक राजनीतिक, सामाजिक र आर्थिक असन्तुलन भएको र सहायक कारणका रूपमा भू–राजनीतिक प्रभावसमेत रहेको चर्चा गरे। ‘अमेरिका, चीन, रुस र भारतबीचको शक्ति प्रतिस्पर्धाको बाछिटा नेपालमा पनि परेको छ,’ उनले भने।

पुनले आन्दोलनको बहानामा अध्यक्ष प्रचण्डसहित नेताहरूका निवास र पार्टी कार्यालयमा आगजनी तथा लुटपाट गरिनु नियोजित भएको आरोप लगाए। ‘यसरी माओवादी पनि अरू दल जस्तै भ्रष्ट छन् भन्ने प्रचार गर्न खोजिएको छ,’ उनले आपत्ति जनाए।

अनन्तले अत्यन्तै संवेदनशील अवस्थामा रहेको मुलुकमा कुनै पनि किसिमको भू–राजनीतिक चलखेललाई रोक्न राष्ट्रिय एकता र सहकार्य अपरिहार्य रहेकोमा जोड दिए।फरक प्रसंगमा उनले जेन–जी आन्दोलनले दलहरूको विद्यमान नेतृत्व, संरचना र राज्यका निकायमा आमूल रुपान्तरणको आवश्यकता रहेको जबर्जस्त सन्देश दिएको टिप्पणी गरे।

प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com