काठमाडौं । गभर्नर डा. विश्वनाथ पौडेलसँग भेट गरेका लगानीकर्ताका विभिन्न संघ–संगठनहरूले सेयर बजार सुधारका लागि ६ बुँदे सुझाव प्रस्तुत गरेका छन्।
संयुक्त रूपमा बुझाइएका सुझावमा बैंकहरूलाई सहज रूपमा पूँजी बजारमा लगानी गर्ने वातावरण बनाउनुपर्ने, प्राथमिक पुँजीकोषको आधारमा तोकिएको लगानी सीमा पुनरावलोकन गर्नुपर्ने र व्यक्तिगत सेयर धितो कर्जामा कायम २५ करोडको सीमा हटाउनुपर्ने माग छन्।
त्यस्तै, लघुवित्त संस्थाहरूमा लाभांश वितरणको २५ प्रतिशत सीमा हटाई तिनलाई स्वतन्त्र र प्रतिस्पर्धात्मक ढंगले सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्ने, बैंक तथा वित्तीय संस्थाहरूले दिने सेयर कर्जाको सीमा संशोधन गर्नुपर्ने र गैरआवासीय नेपालीलाई पूँजी बजारमा प्रवेश गर्ने अवसर उपलब्ध गराउनुपर्ने सुझाव पनि समावेश छन्।
लगानीकर्ताहरूले यी कदम तत्काल कार्यान्वयन भए सेयर बजारमा स्थायित्व र विश्वास पुनःस्थापित हुने विश्वास व्यक्त गरेका छन्।
प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार













प्रतिक्रिया