काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निजी क्षेत्रलाई भेट्दै मनोबल उच्च बनाउन र समस्या समाधानमा सरकार गम्भीर रूपमा लागेको स्पष्ट पारेकी छन्। आइतबार व्यवसायीहरूसँगको भेटघाटमा उनले प्रक्रिया सरल गर्ने, सुरक्षा सुनिश्चित गर्ने र सहज वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाउँदै सबै मिलेर मुलुकलाई अगाडि बढाउन आह्वान गरिन्।
जेनजी आन्दोलनपछिको लुटपाट, तोडफोड र आगजनीका क्रममा व्यवसायी पनि प्रभावित भएका थिए। त्यसै पृष्ठभूमिमा प्रधानमन्त्रीले व्यवसायीहरूलाई छलफलका लागि बोलाइन्।
‘म प्रतिनिधिसभा निर्वाचन गराउने प्रमुख एजेन्डासहित सरकार सञ्चालन गरिरहेकी छु,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘चुनाव सफल बनाउन आवश्यक सबै बाधा–अड्काउ हटाउनेछु, तर अनावश्यक अध्यादेश ल्याइने छैन।’
सुरक्षा बलियो भएपछि निजी क्षेत्रलाई पनि लाभ पुग्ने उल्लेख गर्दै उनले पुनरुत्थान प्याकेज ल्याउने तयारी रहेको र भन्सारमा सहुलियत वा दरमा कटौती जस्ता विकल्प पनि अध्ययन भइरहेको बताइन्।
छलफलमा सहभागी व्यवसायीहरूले व्यवसाय पुनर्जीवनका लागि खुकुलो व्यवस्था आवश्यक रहेको बताएका थिए। प्रधानमन्त्रीलाई उद्धृत गर्दै एक व्यवसायीले भने, ‘अधिकारको दायराभित्र सरकार तयार छ, तर त्यो भन्दा बाहिर बढी आशा गर्नु हुँदैन।’
सो अवसरमा अर्थमन्त्री रामेश्वर खनालले व्यवसायीको सुझावअनुसार सम्भव हुने सबै कदम चाल्ने प्रतिवद्धता व्यक्त गरे।
प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार













प्रतिक्रिया