काठमाडौं । गृहमन्त्री एवं कानुन न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले कार्यक्षेत्रमा थप उच्च मनोबल र हौसलाका साथ परिचालित हुन सशस्त्र प्रहरी बललाई निर्देशन दिएका छन् ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोकको निरीक्षण भ्रमणपछि आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले सशस्त्र प्रहरी बल नेपालले आफ्नो स्थापनाकालदेखि नै मुलुकमा देखापरेका विभिन्न अप्ठ्यारा परिस्थितिमा आइपरेका चुनौतीलाई परास्त गर्दै आएको स्मरण गरे ।

advertisement

उनले भने, “नेपाली जनताको जीवनरक्षा गर्नुभन्दा ठूलो कर्तव्य अरु केही हुन सक्दैन भन्ने कुरा सशस्त्र प्रहरी बल नेपाल तथा अन्य सुरक्षा निकायले राम्रोसँग बुझेका छन्, आगमी दिनमा कार्यक्षेत्रमा थप हौसलाका साथ परिचालित हुनुपर्छ ।”

सशस्त्र प्रहरी बल नेपालले प्राथमिकीकरण गरेका कार्यादेशअन्तर्गत सीमा सुरक्षा, राजस्व सङ्कलन, विपद् व्यवस्थापनमा सक्रिय भई सीमास्तम्भ मर्मतसम्भार, सीमापार अपराध नियन्त्रण, अवैध चोरीपैठारी, मानव बेचबिखन, हातहतियार तथा लागुऔषधको ओसारपसार नियन्त्रणमा ‘डेडिकेटेड’ रुपमा परिचालन हुन गृहमन्त्री अर्यालले आग्रह गरे ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले राज्य र नागरिकको सेवा तथा सुरक्षामा समर्पित सशस्त्र प्रहरी बल नेपाल जनअपेक्षाअनुरुप सुरक्षा प्रदान गर्दै आएको उल्लेख गर्दै सङ्गठनले आर्जन गरेको प्रतिष्ठा र जनविश्वासलाई अक्षुण्ण राख्न अनुशासित, कर्तव्यपरायण र सेवाप्रति निष्ठावान् रही राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा परिचालित हुँदै आएको बताए ।

राजस्व चुहावट नियन्त्रण र वैध व्यापार प्रवद्र्धनमार्फत राज्यको अर्थतन्त्रमा योगदान पु¥याउन सशस्त्र प्रहरी बलले प्रभावकारी भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै महानिरीक्षक अर्यालले सीमा क्षेत्रमा आवश्यक जनशक्ति र बिओपीको सङ्ख्या वृद्धि गर्नसके थप उपलब्धि हासिल हुने विश्वास व्यक्त गरे । रासस

प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com