काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी ६ महिनाभित्र शान्ति, सुरक्षा र सुशासन कायम गर्नु अहिलेको सरकारको प्रमुख चुनौती भएको बताएका छन्।
आइतबार सिंहदरबारमा उद्योगी व्यवसायीसँगको भेटमा मन्त्री अर्यालले जेन–जी आन्दोलनको म्यान्डेट अनुसार सुशासन सुनिश्चित गर्न नसकिए सरकारको लक्ष्य बीचमै टुट्न सक्ने चेतावनी दिए।
उनले भने, ‘आन्दोलनको मूल आत्मा सुशासन हो। यदि हामीले सुशासन दिन असफल भयौं भने जनविद्रोहले बीचमै खबरदारी गर्न सक्छ। त्यसैले सरकार, निजी क्षेत्र र सार्वजनिक क्षेत्र सबै मिलेर सुशासनको आधार बलियो बनाउनैपर्छ।’
मन्त्री अर्यालले आन्दोलनपछिको अस्थिर अवस्थालाई सामान्य बनाउन कानुन र राजनीति बीचको सन्तुलन कायम गर्न आवश्यक रहेको बताउँदै, द्वन्द्व व्यवस्थापनमा सरकार पूर्ण गम्भीर रहेको दाबी गरे।
आन्दोलनका क्रममा भएका ज्यादती छानबिनका लागि छिट्टै न्यायिक आयोग गठन हुने जानकारी दिँदै उनले ठूलो जनधनको क्षति भए पनि देश नयाँ युगतर्फ अगाडि बढेको उल्लेख गरे।
सुरक्षाकर्मीले आन्दोलनमा भोग्नुपरेको क्षति बारे पनि मन्त्री अर्यालले विशेष चासो देखाए। उनका अनुसार आवास, गाडी, सञ्चार सामग्रीदेखि कपडा र खाद्यान्नसम्मको जोहोका लागि सरकारले तत्काल पहल थालेको छ। उनले प्राप्त हुने अन्तर्राष्ट्रिय सहयोगलाई पारदर्शी ढंगले, अन्तर्राष्ट्रिय मान्यताअनुसार परिचालन गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।
प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार













प्रतिक्रिया