काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हालको विपद् व्यवस्थापनमा सरकारको सक्रियता र तदारुकताको प्रशंसा गरेको छ। आइतबार बसेको पार्टीको बृहत् भर्चुअल बैठकपछि जारी विज्ञप्तिमा रास्वपाले सरकारको इमानदार र जिम्मेवार नेतृत्वका कारण जनतामा ‘सरकार छ’ भन्ने विश्वास पैदा भएको उल्लेख गरेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘सरकार बलियो सांसद संख्याले होइन, बलियो सार्वजनिक सेवाले हुने हो। अहिलेको नेतृत्वले गम्भीरता र इमानदारिताको उदाहरण प्रस्तुत गरेको छ।’
बैठकले विपद् प्रभावित क्षेत्रमा पार्टीले गर्दै आएको समन्वय र सहयोगलाई निरन्तरता दिने निर्णय गरेको छ। साथै, उद्धार र राहत कार्यमा आफ्ना कार्यकर्ता र स्वयम्सेवकलाई सीप र क्षमताअनुसार सक्रिय रहन आह्वान गरिएको छ।
त्यस्तै, यातायात र संचार अवरुद्ध भएका ठाउँमा सहज सहायताका लागि प्रमुख राजमार्गहरूमा शीघ्र ‘हेल्प डेस्क’ स्थापना गर्न पनि रास्वपाले आग्रह गरेको छ।
स्थिति सामान्य नहुन्जेल हरेक दिन साँझ ७ बजे भर्चुअल बैठक आयोजना गर्ने र प्रदेश तथा जिल्ला कमिटीहरूले त्यसको प्रतिवेदन केन्द्रमा पेस गर्ने निर्णय भएको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।
प्रकाशित मिति: २० आश्विन २०८२, सोमबार












प्रतिक्रिया