जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् । दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकको कार्यसूचीमै विश्वासको मत प्रमुख एजेन्डा रहेको छ ।

मधेश प्रदेशको राजनीतिक वातावरण अहिले निकै तातिएको छ । केन्द्रका शीर्ष नेताहरू जनकपुरधाम आइपुगेका छन् भने केही आज नै आउने तयारीमा रहेका छन् । यस्तो अवस्थामा प्रदेश सरकारको भविष्यबारे व्यापक चासो बढेको छ ।

advertisement

गत सोमबार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मुख्यमन्त्री सिंह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । त्यसअघि नै नेकपा एमाले, नेपाली कांग्रेस र जनमत पार्टीले पनि समर्थन फिर्ता लिएर सिंह सरकार अल्पमतमा परेको थियो ।

यसबीच नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा नयाँ सरकार गठनको पहल थालेको छ । कांग्रेसले एमाले र जनमत पार्टीसँग मिलेर प्रदेश प्रमुखको कार्यालयमा बहुमत दाबी समेत दर्ता गराएको थियो । तर, मंगलबार जनमत पार्टी फुटेपछि त्यसको प्रभाव सत्ता समीकरणमा पर्न सक्ने देखिएको छ । जनमतका ६ जना सांसद पार्टी फुटेर नयाँ दलमा गएका कारण कांग्रेसको बहुमतको गणित चुनौतीमा परेको हो ।

यता, मधेश केन्द्रित दलहरू पनि नयाँ सत्ता समीकरण र नेतृत्व चयनका लागि भित्री छलफलमा व्यस्त छन् । आगामी केही दिनभित्र प्रदेश राजनीतिमा ठूला उलटफेर हुने सम्भावना देखिएको छ ।

प्रकाशित मिति: २८ आश्विन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com