काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुनेमा शंका व्यक्त गरेका छन्।

मधेस प्रदेश अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले अहिलेको अन्तरिम सरकारले निर्वाचन गराउने तयारी देखाउन नसकेको आरोप लगाए। यादवले भने, ‘छ महिनाको म्याद पाएको सरकारले एक महिनामा कुनै ठोस काम गरेको छैन। निर्वाचन गराउने जिम्मेवारी सरकारकै हो, तर अहिलेसम्म उसले राजनीतिक दलहरूसँग छलफलसमेत गरेको छैन।’

advertisement

उनका अनुसार दलहरूको सहभागिता बिना निर्वाचन सम्भव छैन। ‘राजनीतिक दलहरूले भाग नलिएपछि चुनाव हुन्छ भने त्यो राजा ज्ञानेन्द्रको भन्दा ठूलो हास्यास्पद चुनाव हुनेछ,’ उनले टिप्पणी गरे।

अध्यक्ष यादवले संघीयता खारेज गर्ने षड्यन्त्र सुरु भइसकेको भन्दै त्यसविरुद्ध सचेत रहन सबैलाई आग्रह गरे। ‘संघीय गणतन्त्रात्मक प्रणाली समाप्त पार्ने खेल भइरहेको छ,’ उनले भने, ‘त्यस्तो प्रयास भए जसपा, नेपाल सडकमा उत्रिन्छ।’

संघीयता खारेजीको माग उठ्ने परिस्थितिमा आफूहरू मौन नबस्ने चेतावनी दिँदै उनले संघीय र गणतान्त्रिक व्यवस्थालाई अझै सुदृढ बनाउने दिशामा सबै दलले ध्यान दिनुपर्ने बताए।

उनले हालको राजनीतिक संकट ‘जेनजी आन्दोलन’को परिणाम भएको टिप्पणी गर्दै भने, ‘३५–३६ वर्षदेखि कांग्रेस र कम्युनिष्ट दलले शासन गरे पनि जनताले ठोस उपलब्धी पाएका छैनन्। यही असन्तुष्टिको रूप हो जेनजी आन्दोलन।’

प्रकाशित मिति: २८ आश्विन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com