काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनको दोस्रो दिन, भदौ २४ गते, देशको इतिहासमै सबैभन्दा भयावह दिनका रूपमा दर्ज हुने टिप्पणी गरेका छन्।
कांग्रेस केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले सो दिनका घटनाले देश र समाजलाई गहिरो घाउ पु¥याएको बताए। “भदौ २३ गतेको शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ भयो, त्यसपछि आन्दोलनले हिंसात्मक रूप लियो र निर्दोष युवाहरूले ज्यान गुमाए,” देउवाको लिखित सम्बोधनमा उल्लेख छ।
जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक भएका देउवाले घटनाले आफू र सम्पूर्ण देशलाई मर्माहित बनाएको बताए। “यो घटनाले मलाई मात्र होइन, सम्पूर्ण नेपालीलाई गहिरो पीडा दिएको छ,” उनले भने।
उनका अनुसार भदौ २४ को बिहानदेखि नै देशका प्रमुख प्रशासनिक र राजनीतिक संरचनाहरू हिंसाको निशानामा परे। ‘राष्ट्रपति भवन, सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, मन्त्रालयहरू, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रदेश र स्थानीय तहका कार्यालयहरू, प्रहरी कार्यालय, जनप्रतिनिधिका निवास, सञ्चार गृह र व्यवसायिक प्रतिष्ठानहरूमा आक्रमण, तोडफोड, लुटपाट र आगजनी भयो,’ देउवाले स्मरण गरे।
उनले थपे, ‘यी घटनाले अकल्पनीय जनधनको क्षति पुर्यायो। सम्भवतः भदौ २४ नेपालको इतिहासमा सबैभन्दा डरलाग्दो दिनका रूपमा सदाको लागि लिपिबद्ध हुनेछ।’
प्रकाशित मिति: २८ आश्विन २०८२, मंगलबार












प्रतिक्रिया