काठमाडौं । नेकपा एमालेको दसौं केन्द्रीय कमिटी बैठक बुधबारबाट ललितपुरमा सुरू हुँदैछ। एमाले केन्द्रीय कमिटीको बैठक ललितपुरमा सुरू हुन लागेको हो। केन्द्रीय कमिटी बैठक बिहान ११ बजेबाट सुरू हुनेछ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पहिलोपटक बस्न लागेको केन्द्रीय कमिटी बैठकले ११ औं महाधिवेशनको मिति तय गर्नेछ। सचिवालयको ५८ औं बैठकले मंसिर अन्तिम हप्ता महाधिवेशन गर्ने निर्णय गरे पनि मिति भने तोकेको थिएन।

advertisement

आजको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन पेस गर्नेछन्। त्यसमा आधारित भएर सदस्यहरूले धारणा राख्नेछन्।

यस्तै बैठकमा केन्द्रीय सदस्यहरूले नेतृत्व र पार्टी पुनर्गठनबारे पनि धारणा राख्नेछन्। जेनजी आन्दोलनका कारण पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने र भदौ २३ गतेको घटनाको नैतिक जिम्मेवारी लिनुपर्ने केही केन्द्रीय सदस्यहरूले बताउँदै आएका छन्।

सचिवालय बैठकमा पनि अध्यक्षबाट ओलीको राजीनामा र पार्टी पुनर्गठनबारे सघन बहस भएको थियो। तर अध्यक्ष ओलीले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए।

एमालेको दसौं महाधिवेशन २०७८ मंसिर १० देखि १४ गतेसम्म चितवनमा भएको थियो। मौजुदा कार्य समितिको पाँच वर्षको कार्यकाल सकिन अझै एक वर्ष बाँकी भए पनि विशेष परिस्थितिले महाधिवेशन वर सार्न लागिएको हो।

केन्द्रीय कमिटी बैठकमा प्रतिनिधि पुनःस्थापनाको मुद्दामा पनि छलफल हुनेछ। सचिवालय बैठकले प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्ने निर्णय गरेको थियो। प्रतिनिधि सभा पुनःस्थापनाबारे अदालतमा रिट परे पनि एमाले आफै भने रिट लिएर जाने मनस्थितिमा देखिएको छैन। केन्द्रीय कमिटी बैठकले यसबारे थप निर्णय गर्नेछ।

एमाले केन्द्रीय कमिटी बैठक तीन दिन चल्नेछ।

 

प्रकाशित मिति: २९ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com