काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी छलफलका लागि सभामुख देवराज घिमिरेले बोलाएको बैठकमा चार राजनीतिक दल सहभागी भएनन् ।

सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा बसेको उक्त बैठकमा सभामुखले १० दलका प्रमुख सचेतकहरूलाई आमन्त्रण गरेका थिए । तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधि बैठकमा उपस्थित भएनन् ।

advertisement

सभामुखका प्रेसविज्ञ शेखर अधिकारीका अनुसार बोलाइएका १० दलमध्ये ६ दलका प्रतिनिधिहरू मात्र उपस्थित थिए । सहभागी हुने दलहरूमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) रहेका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर रिटबारे कसरी अघि बढ्ने भन्ने विषयमा साझा धारणा बनाउन सभामुखले दलहरूको राय लिने उद्देश्यले बैठक बोलाएका हुन् ।

बैठकमा कांग्रेसबाट श्यामकुमार घिमिरे, एमालेबाट महेश बर्तौला, माओवादी केन्द्रबाट हितराज पाण्डे, राप्रपाबाट ज्ञानबहादुर शाही, जसपा नेपालबाट रेखा यादव र एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे सहभागी भएका थिए ।

सभामुख घिमिरेले प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी कानुनी पक्षबारे थप परामर्शका लागि बिहीबार कानुन व्यवसायीहरूसँग छुट्टै बैठक बोलाउने तयारी गरेका छन् ।

प्रकाशित मिति: २९ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com