काठमाडौं । नेकपा एमालेको १०औँ केन्द्रीय कमिटी बैठक ललितपुरको जावलाखेलस्थित रामबाघ महलमा सुरु भएको छ। केही बेरअघि प्रारम्भ भएको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक परिस्थितिबारे तयार गरिएको राजनीतिक प्रतिवेदन पेस गर्ने तयारी गरेका छन्।
जेनजी विद्रोहपछि सत्ताच्युत भएका ओलीको नेतृत्वमा पहिलोपटक केन्द्रीय कमिटी बैठक बसेको हो। प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार ओलीको प्रतिवेदनमा हालको सरकार गठन प्रक्रिया, प्रतिनिधिसभा विघटनको असंवैधानिकता, प्रधानमन्त्रीको संवादहीनता, शान्ति-सुरक्षाको कमजोर अवस्था र निष्पक्ष निर्वाचनप्रतिको अनिश्चितता जस्ता विषय समेटिएका छन्।
यसअघि बसेको सचिवालय बैठकले पार्टीको ११औँ महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। अहिलेको बैठकले महाधिवेशनको मिति र स्थान तय गर्नेछ। त्यस्तै, संविधान र लोकतान्त्रिक गणतान्त्रिक पक्षधर दलहरूसँग सहकार्य गर्दै संसद पुनःस्थापनाको मुद्दालाई जोडदार रूपमा अघि बढाउने एमालेको तयारी छ।
बैठकमा अध्यक्षको प्रतिवेदनमाथि क्षेत्रगत रूपमा केन्द्रीय सदस्यहरूलाई तीन-तीन मिनेटको समय दिइनेछ। बैठकमा नेतृत्व परिवर्तन, पार्टी पुनर्गठन लगायतका विषयमा पनि व्यापक छलफल हुने जनाइएको छ।
एमालेको यो बैठक तीन दिनसम्म चल्ने कार्यक्रम रहेको पार्टी स्रोतले जनाएको छ।
प्रकाशित मिति: २९ आश्विन २०८२, बुधबार












प्रतिक्रिया