काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले देश अहिले संवैधानिक मार्गबाट भट्किएको आरोप लगाएका छन् । उनले अन्तरिम सरकारको गठनदेखि प्रतिनिधिसभा विघटनसम्मका सबै निर्णयहरू असंवैधानिक, अराजनीतिक र अलोकतान्त्रिक रहेको दाबी गरे ।
बुधबार सिंहदरबारमा सभामुखसँग भएको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै बर्तौलाले भने, ‘अन्तरिम सरकारको गठन नै संविधानविपरीत भयो, संसद् विघटन पनि त्यही मार्गमा चलाइएको छ । देश अहिले संविधानले देखाएको बाटोभन्दा बाहिर छ।’
उनका अनुसार जेनजी आन्दोलनका सकारात्मक माग र भावनालाई संस्थागत गर्ने सबैभन्दा उपयुक्त माध्यम संसद् नै भएकाले यसको पुनर्स्थापना अत्यावश्यक छ ।
सरकारले निर्वाचन गराउने भन्ने होइन, बरु निर्वाचन हुन नदिने प्रयास गरिरहेको आरोप बर्तौलाले लगाए । उनले भने, ‘राजनीतिक दलहरू जनतासँग आफ्ना एजेन्डा लिएर जान पाउँछन् भन्ने वातावरण सिर्जना गर्न सरकार असफल भएको छ।’
त्यसैगरी उनले सरकार र राजनीतिक दलहरूबीच संवादको कमी गहिरिँदै गएको बताउँदै गृहमन्त्रीले लुटिएका हतियार फिर्ता ल्याउने जस्तो गम्भीर विषयमा समेत चासो नदेखाएको आरोप लगाए ।
प्रकाशित मिति: २९ आश्विन २०८२, बुधबार












प्रतिक्रिया